Butwal Today

पाखो बारीमा लहलह धान

परिक्षणको लागि २ रोपनी क्षेत्रफल भएको बारीमा धान खेती गरेको र आउने वर्षमा १० रोपनी क्षेत्रफलमा बारीमा धान लगाउने योजनामा ठाकुर भट्टराइ छन् । कम पानी र भिरालो जमिनमा पनि राम्रो उत्पादन लिन सकिने एनपिएच ३६९ राज नामको धानको बीउ बारीको लागि पनि उपयुक्त देखिएको छ ।
२ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

पाल्पा, ०२ कार्तिक ।
चारैतर्फ डाले घाँसका ठूला ठूला रुख । यसको बिचमा भिरालो बारी । अन्न वाली अन्तर्गत मकै, गहुँ, फापर, कोदोको खेती गर्ने बारी हो । तर यहाँ यतिखेर बारीमा लहलह झुलेका धानका बाला देख्दा सबैको मन लोभिन्छ । तानसेन नगरको डाडाडुम गाउँका युवा कृषक ठाकुर भट्टराईले जिल्ला मै पहिलो पटक बारीमा नयाँ प्रजातिका धान लगाएका हुन् । बारीमा धान कल्पना भन्दा बाहिरको कुरा हो । त्यसैले नयाँ देख्दा सबैको मन लोभिएको हो । पहिले पहिले बारीमा घैया भन्ने धान लगाउने प्रचलन थियो । तर यो घैया प्रजाती नभएर पानी तथा सिंचाईको कम आवश्यकता पर्ने एक प्रकारको नयाँ धान भएको कृषि प्राविधिकहरू बताउँछन् ।

अन्न तथा फलफूल वाली लगाउँदा वन्य जन्तुबाट जोगाउन कठिन भएका कारण बारी बाँझो नै राख्नु पर्ने अवस्था आएको थियो । पहिला गोरुले जोतेर ठिक्क बनाएको ठाउमा एकाएक धान छर्दा त पहिला होला जस्तो भए पनि वरपरका सबैले प्रतिकृया दिँदा नरमाइलो लागेको थियो । जव बीउ उम्रिएर राम्रोसंग गाँझिदै र बाला लाग्दै जादा सबै अचम्म मानी हेर्न आउनेहरूको भिडै लाग्न थालेको उनी बताउँछन् ।

नयाँनयाँ व्यवसाय तथा पेशा गर्नु पर्दछ भनेका ठाकुर यस अगाडि पनि बारीमा पातीको खेति गरेका थिए । यसबाट आम्दानी राम्रो भएपनि कामदारको अभावका कारण पाति खेति गर्न छाडेको बताउँछन् । यस पटक परिक्षणको लागि २ रोपनी क्षेत्रफल भएको बारीमा धान खेति गरेको र आउने वर्षमा १० रोपनी क्षेत्रफलमा बारीमा धान लगाउने योजना रहेको उनले बताए ।
धान वालीलाइ पानीको धेरै आवश्यकता हुन्छ भन्ने हाम्रो मानसिकता रहेको छ । पानी प्रयाप्त मात्रामा आवश्यकता नपर्ने, आकासे पानीको भरमा भिरालो जमिनमा पनि खेति राम्रोसंग गर्न सकिने, उत्पादन पनि राम्रो लिन सकिने, वन्य जन्तुले पनि नखाने भएका कारण व्यवसायीक रूपमा सफल भएको उनका छिमेकी गोविन्द पराजुली बताउँछन् ।

पहिला बारीमा धान लगाउने भन्दा आफुलाई यसरी सफल होला भन्ने पत्यारै लागेको थिएन । लगाएको भोलि पटक आकासबाट पानी पर्दा होस नै उठेको थियो । पछि बिस्तारै उम्रिदै गाझिदै गयो । भए धान चामल होला नभए पराल भन्ने लाग्यो हेर्दा हेर्दै परालसँगै धान पनि फल्यो खुसी हुँदै उनले सुनाए । यसरी बारीमा धान खेति होला भन्ने कल्पना नै थिएन । ठाकुरको श्रीमती यसोदा भट्टराई बताउँछिन् ।

बारीमा धान लगाउने भन्ने नै थिएन । अन्य वाली लगाए वन्य जन्तुले नोक्सान गर्ने भएका कारण बारी बाझो राख्ने सोचमा पुग्दा एकाएक बीउ बिजन व्यवसायी बिष्णु भण्डारीले बीउ उपलब्ध गराउने र परिक्षणका रूपमा खेती गर्न भनेपछि बारीमा बीउ छरेको भट्टराई दम्पती बताउँछन् ।

वन्य जन्तुका कारण गाउँ बस्तीका बारी बाँझो हुँदै गएको बखतमा नयाँ प्रजातीको बीउ आयो । परिक्षण गरेको सफल भयो । कम पानी र भिरालो जमिनमा पनि राम्रो उत्पादन लिन सकिने एनपिएच ३६९ राज नामकको बीउ भएको र यसको बिस्तारका लागि हाम्रो भूगोल अत्यन्त उपयोगी भएको व्यवसायी बिष्णु भण्डारी बताउँछन् ।

धानलाई वन्य जन्तुबाट जोगाउन सजिलो वाली भयो । यसलाई जोगाउनु पर्ने भनेको चरा बाट मात्र हो । अर्को तर्फ यसले पहारिलो भाग मन पराउँछ । ओसेप हुने ठाउँमा कम मात्रामा दाना लाग्ने र लागेका दानाहरू पनि पुष्ट नहुने यसको विषेशता हो । हाम्रो जस्तो पहाडी क्षेत्रको वालीमा राम्रो उत्पादन लिन सकिने रहेछ भन्ने परिक्षण बाट थाहा लागेको उनी बताउँछन् ।

पाल्पाको त दोस्रो मुख्य बाली हो धान, पहिलो भनेको मकै हो । पहिले पहिले सबै बारीमा मकै खेती गर्ने प्रचलन थियो । वन्य जन्तुका कारण मकै खेतिको क्षेत्रफल खोटिदै र छोटिदै गयो । गाउँका बस्तीहरू खाली हुँदै गए । यस्तो अवस्थामा नयाँ प्रजातिको धानको बीउले कृषकको लागि थप उर्जा प्राप्त हुने संगै प्रत्येक वर्ष ठूलो परिमाणमा भारतबाट आयत गरिने चामललाई प्रतिस्थापन गर्न ठूलो बल पुग्ने तानसेन नगरका कृषि प्राविधिक सरोज तिमल्सिना बताउँछन् ।

बारीबाट वन्य जन्तुका कारण विस्थापित भएका कृषकको संख्या धेरै छन् । धान खेती योग्य क्षेत्रलाई आवासिय क्षेत्र बनाउने क्रम बढेकाले धानको उत्पादनका ह्रास आएको थियो । यसले व्यवसायिक सफलता प्राप्त गरेको खण्डमा गाउँ छोडेकाहरू पुन गाउँ फर्कने, कम मेहनतमा राम्रो उत्पादन लिन सकिने धान खेतीबाट कृषकको आर्थिक बिकासमा थप मद्दत पुग्ने कृषि प्राविधिकहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?