Butwal Today

लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिए

१७ आश्विन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

स्थलगत आक्रमणका लागि लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिएका छन्।

इजरायली सेनाका झण्डै १८ बटालियन विभिन्न सीमा क्षेत्रबाट लेबनान छिरिरहेका छन्। जसमध्ये एउटा बटालियनका ८ जवानको हिजबुल्लाह समूहका लडाकुसँग भएको झडपमा मृत्यु भएको हो।

इरान समर्थित हिजबुल्लाह लडाकूहरुले इजरायली ट्यांकहरु ध्वस्त पारेको र सैनिकहरु मारिएको दाबी गरेको छ। इजरायली सेनाले हिजबुल्लाहका रकेट लञ्चरलगायतका संरचना ध्वस्त पार्न स्थलगत आक्रमण सुरु गरेको बताएको थियो।

इजरायली सेनाले गरेको स्थलगत आक्रमणका क्रममा बेरुतमा ६ लेबनानी नागरिक मारिएका छन् भने कम्तीमा ८ जना घाइते भएका छन्।

राजधानी बेरुतस्थित एक बहुतले सिटी सेन्टरमा भएको इजरायली आक्रमणमा ६ जना मारिएका हुन्। इजरायली सेना लेबनानमा प्रवेश गरेपछि त्यहाँ निरन्तर झडप र विस्फोटका घटनाहरु भइरहेका छन्। उता इरानले इजरायलका विभिन्न सहर केन्द्रित मिसाइल प्रहार गरेको छ।

१ सय ८१ वटा हाइपरसोनिक मिसाइलबाट इरानले गरेको आक्रमणबाट कुनै क्षति भएको विवरण भने सार्वजनिक गरिएको छैन।

इजरायलमा बलियो एन्टि मिसाइल प्रविधि भएकाले क्षति नभएको दाबी गरिएको छ।