Butwal Today

करिडोरको अवरुद्ध सडक खुलाउन डोजर लिएर पुगे पालिका प्रमुख सुनारी

१५ आश्विन २०८१, मंगलवार
अ+
अ-

नवलपुर, १५ असोज ।

पुर्वी नवलपरासीको पहाडी क्षेत्रमा बाढिका कारण पहाडी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । गैंडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा बाढीका कारण सडक अवरुद्ध भएपछि बुलिङटार गाउपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी गाउपालिकाको डोजर लिएर डाईभर्सन मार्फत सडक खुलाउनका लागि खोलामै खटिएका छन् ।

पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको गैंडाकोट–बुलिङ्टार करिडोर सडक खण्डको तरंगा खोलामा बाढिका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

वर्षाका कारण सडक बिग्रिँदा नवलपुरका ग्रामीण सडकमा महिनौँसम्म सडक अवरुद्ध हुनुका साथै वर्षौं ठूला दुर्घटना हुने गरेको स्थानीय होमराज रानाभाटले बताए । पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण रहेकाले जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको बताए । वर्षातको समयमा यस सडक भएर यात्रा गर्न असहज हुने गरेको रानाभाटको भनाई छ ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ओसारपोसार गर्न साथै यस क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधन नियमित रुपमा आवतजावत बन्द भएको स्थानीय बेलबहादुर दराइले बताए । वर्षा हुने बितिकै पहिरो खस्दा प्रत्येक दिन यहाँका स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेको भन्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी गाउपालिकाको डोजर लिएर तरङ्ग खोलामा खटिएका हुन् । मंगलबार दिउसोसम्म सडक खुलाउने प्रयास भैरहेको छ ।