Butwal Today

पहिरोमा ज्यान गुमाएका १४ जना बुटवलबाट गएको एउटै गाडीका यात्रु

१२ आश्विन २०८१, शनिबार
अ+
अ-

बुटवल ।

नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा ज्यान गुमाएका १४ जना एकै गाडीका यात्रु भएको खुलेको छ। ज्यान जानेमा जिप चालक रमेश लुईटेल समेत छन्।

इलाका प्रहरी कार्यालय धादिङ र नागढुंगा प्रहरी प्रभागका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको माइक्रो गाडीबाट ती शवहरू निकालिएको हो। १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताईएको छ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो। गाडी शुक्रबारै राती पहिरोमा पुरिएको थियो।

बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट १० जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरुले नाम नलेखाई समुहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ति मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाईल नम्वर मात्रै उल्लेख छ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका टिकट साखाका कर्मचारी लक्ष्मण पोखरेलका अनुसार कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रुहरु रहेका थिए। उनीहरुको अझै सनाखत हुन सकेको छैन ।