© 2026
नेपालको शैक्षिक नीति सीपमूलक र व्यवहारमुखी हुन नसक्दा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । प्राविधिक, सीपमूलक र व्यवहारमुखी शिक्षा प्रदान गर्ने भनि खालिएका शैक्षिक संस्थाले पनि दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेका छैनन् । जहाँ पढेका जनशक्ति पनि रोजगारीका लागि भौतारिका र रोजगारीकै लागि विदेशिने गरेका छन् । पछिल्लो पटक त झन त्यस्ता प्राविधिक शिक्षालयहरू नै विद्यार्थीको खडेरी पर्ने गरेको छ । शिक्षा नीति सीप प्रदान गरी स्वरोजगार बन्न योग्य बनाउनेभन्दा सैद्धान्तिक ज्ञान मात्रै प्रदान गरेर भाषण दिने र अधिकारका लागि आवाज उठाउनसक्ने बनाउनु मात्रै भएकाले श्रम बजारमा रोजगारको खोजीमा भौंतारिनेको संख्या बढ्नुको मुख्य कारण देखिन्छ । स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता नभएकै कारण शिक्षित युवामा जागिरे मनोवृत्ति धेरै बढेको हो। उच्च शिक्षामा विद्यार्थीको चाप बढिरहेको वर्तमान परिप्रेक्ष्यमा सरकारी तथा निजी क्षेत्रबाट पनि स्वरोजगार बन्न प्रेरित गर्ने सीपमूलक र व्यावसायिक तथा प्राविधिक शिक्षामा बढी प्राथमिकता दिनुपर्नेमा यसो हुन नसकिरहेकाले भोलिका दिनमा थप शिक्षित बेरोजगारको समस्या झनै चर्किने अनुमान सहजै गर्न सकिन्छ ।
शिक्षित जनशक्तिलाई खपत गर्ने खालका उत्पादनमूलक तथा सेवामूलक आर्थिक क्रियाकलाप पर्याप्त मात्रामा सञ्चालन हुन नसक्दा यस्ता शिक्षित जनशक्तिको उपयोग हुन नसकेको हो। परिणामतः मुलुकमा बेरोजगार समस्याले भयावह रूप लिएको छ। साथै अदक्ष र अर्धदक्ष जनशक्तिका लागि पनि रोजगारको अवसर आवश्यक भएकाले मुलुकको कृषि, उद्योग, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने कार्यमा राज्यका तीन वटै तहको पहल आवश्यक देखिएको छ । आफ्नै देशको समृद्धिमा जुट्नुपर्ने जोसिला र ऊर्जाशील युवा परदेशमा आँसु र पसिना बगाउँदै छन् । त्यही आँसु र पसिनाको रेमिट्यान्सले देश चलिरहेको छ । नेपाली युवाको आँसु र पसिनासँग साटिएको रेमिट्यान्सले धानेको छ । त्यही रेमिट्यान्सले अहिलेसम्म अर्थतन्त्र सुरक्षित छ । तर त्यही रेमिट्यान्स पठाउने नेपाली कामदार स्वयं भने आर्थिक तथा सामाजिकरूपमा पनि असुरक्षित छन् । अनि अव्यवस्थित छ तिनको जीवन र तिनको घरपरिवारको अवस्थापनि सुध्रिनसकेको छैन् । बेरोजगार समस्या भयावह हुने खतरा बढ्दै गरेको अवस्थामा पनि त्यसलाई कसरी सामना गर्ने भन्ने कुनै सरकारी तयारी देखिएको छैन । जोसिला र ऊर्जाशील युवा फर्कनु देशका लागि अवसर पनि हो । यो अवसरलाई पुँजीकृत गर्ने कार्ययोजना राज्यले बनाउनुपर्छ। युवाको क्षमता, दक्षता र प्रतिभालाई पूरापूर सदुपयोग गर्न सक्यो भने देशले समृद्धिको यात्रामा फड्को मार्न सक्छ । बेरोजगार समस्या हल गर्न मात्रै होइन; राष्ट्रिय समृद्धिको यात्रामा युवाको सहभागिता र योगदान अभिवृद्धिका लागि पनि रोजगार सिर्जना अपरिहार्य हो ।
वैदेशिक रोजगारमा देखिएका समस्या तत्काल सम्बोधन गर्नैपर्ने मुख्य चुनौतीका रूपमा देखिएको छ । यसलाई बेलैमा सम्बोधन गर्ने प्रयत्न गरिएन भने यसले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा तत्कालीन र दूरगामी असर पार्ने निश्चित नै छ । परिस्थितिवश बेरोजगार बन्न विवश युवा मनमा उत्पन्न हुने निराशा, कुण्ठा, आक्रोश र विद्रोह समाज र देशका लागि पनि घातक बन्न सक्छ । नेपाली घरपरिवारको मात्रै होइन; देशकै लाइफलाइन बनेको रेमिट्यान्स आप्रवाहमा उल्लेख्य कमी आउने सम्भावना बढ्दै गर्दा अर्थतन्त्र धान्ने विकल्प खोज्नैपर्ने आवश्यकता पनि टड्कारो देखिएको छ । त्यसैले राज्यले युवालाई विदेश पठाउने र धपाउने होइन; स्वदेशमै काम गरेर रमाउने वातावरण सिर्जनामा ध्यान दिनुपर्छ । यसले देशमा आर्थिक चहल पहल हुन्छ । देश जीवन्त बन्न सक्छ । यसो भएन भने देश काम गर्न नसक्ने र बृद्धबृद्धा मात्रै बस्ने बन्नेछ । यो भनेको आर्थिक र विकासका हिसावले कमजोर हुनु हो । अहिलेको यो अवस्थाले परनिर्भताको डरलाग्दो चित्रको संकेत गरेको छ । यसतर्फ तीन तहकै सरकारको ध्यान पुगोेस् ।