Butwal Today

कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार

२ आश्विन २०८१, बुधबार
अ+
अ-

बुटवल, २ असोज ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा बुधवार सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको छ । जसमा लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री विद्या भट्टराई सहितले सम्मान तथा पुरस्कृत गरेका हुन ।

प्रदेशका अन्य सम्मानित हुनेहरुमा गुल्मीको रेसुङ्गा माविका प्रधानाध्यापक भागीरथ भण्डारी रहेका छन् । यस्तै शिक्षक देववाणी मावि पाल्पाका लालकुमारी खाम्चा, युवा बर्ष जनता मावि अर्घाखाँचीका शिक्षक मदन आचार्य, कपिलवस्तुका जनता माविका यादव शर्मा पोखरेल, रुकुम पुर्वको रुक्मिणी माविका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, रोल्पाका राष्ट्रिय माविका शिक्षक गौतम कुमार थापा, प्यूठानको मिभसेन माविका शिक्षक माया विश्वकर्मा पुरस्कृत भएका छन् । यस्तै दाङ जिल्लाको गुरुजगुर माविका शिक्षक नारायण देवकोटा, जनता मावि बाँकेका शिक्षक राजेन्द्र पोखरेल, जगदम्बा मावि बर्दियाका शिक्षक किरण थापा, नवलपरासीका रमवापुर माविका शिक्षक सुदन पौडेल पनि उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएका हुन् ।

मन्त्रालयका अनुसार कोशी प्रदेशबाट १४ जना, मधेशका आठ, वाग्मती प्रदेशका १३, गण्डकी प्रदेशबाट ८, कर्णाली प्रदेशबाट १० जना, सुदूरपश्चिम प्रदेशबाट ९ जनालाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरेको हो ।