Butwal Today

कर्मचारीको लापरवाहीले अस्पताललाई ४० लाख घाटा

३० भाद्र २०८१, आइतबार
अ+
अ-

नवलपरासी, ३० भदौ ।
जिल्लास्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा कर्मचारीको लापरबाहीले झण्डै चालिस लाख बीमा रकम घाटा लागेको छ । अस्पतालकै घाटा भएको भन्दै सो घाटा कस्ले परिपुर्ति गर्ने भन्ने चाँसो राख्दै प्रश्न उठ्न थालेको छ । कर्मचारीको नाममा विभिन्न भत्ता थप गर्ने समितिले सहमति दिइने तर कर्मचारीकै कारण लाखौं रुपियाँ घाटा हुँदा सो रकमको सोधभर्ना को कहाँबाट भराउने कुरा प्रति नागरिक समाजको ध्यानाकर्षण भएको हो ।

बिरामी वा जनतालाई समान्य छुट पाउने वा सुविधा माग्दा विभिन्न बहाना बनाउने अस्पताल कर्मचारी, स्वास्थ्यकर्मी, अस्पताल प्रशासन र पदाधिकारी माथि समेत नागरिक समाजले प्रश्न उठाएको छ । अस्पतालकै तथ्यांक अनुसार ३९ लाख ९ हजार ५ सय ७० रुपियाँ दाबी नगर्दा घाटा देखिएका छन् । वेवारिसे बिरामी देखि अन्य जनतालाई केही सहुलियत सुविधामा अस्पतालले विभिन्न बहानाबाजी र बखेडा झिक्छ, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अस्पतालमा कर्मचारीकै कारण लाखौ रुपियाँ घाटा देखिएको छ । सो घाटा कस्ले ब्यहोर्ने होला ? यसको चित बुझ्दो जवाफका लागि अस्पताल प्रशासन तयार रहनु पर्छ । अस्पतालले छानविन समिति बनाई वास्तविक कारण पत्ता लगाई सम्बन्धित कर्मचारीबाट सोधभर्ना गराउनु पर्ने माग उनले गरेका छन् । बिमा बोर्डमा दाबी नै नगर्ने दोष कर्मचारीको हो, उनले थपे, त्यसको निगरानी नगर्ने अस्पताल प्रशासन र पदाधिकारीको हो । अस्पतालको घाटा जो जो दोषी छन्, छानविन गरि उनिहरूबाट नै भराउनु पर्ने नागरिक समाजका अध्यक्ष सैथवारको थियो ।

समितिलाई पनि एक प्रकारको लज्जाबोध हुनु पर्छ, उनले भने, कर्मचारीले जे प्रस्ताव ल्याउँछन् खुरु खुरु पास गर्ने तर तिनै कर्मचारीबाट लाखौ रुपिया घाटा प्रति वेवास्ता गर्ने समिति प्रति जनताले के आशा राख्ने ? एक त विमा रकम माग गर्दा विमा बोर्डले रकम बेलामा दिइएको छैन् । त्यसैमा कम रकम माग गरेर अस्पताल सञ्चालनमा आफै समस्या सृजना गरेको देखिएको छ । बीमा वापत सेवा दिँदै आएको र बीमा रकम आउन ढिलाई हुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । मोटो रकम बीमाबाट लिइनु पर्ने तर बेलामा विमाले रकम नपठाई दिँदा समस्या देखिन थालेको हो । त्यसमा पनि कर्मचारीको गैरजिम्मेवारीपनले रकम नै नमाग गरि घाटा देखाउने गरिएको कुराले अस्पतालको अस्तव्यतता स्वतःप्रमाणित गर्छ । एकतिर अस्पतालमा चिकित्सक र कर्मचारी विरामी अनुपातमा कम भएको अस्पतालले दाबी गर्छ । आर्को तिर अस्पतालका लागि आयवृद्धिमा वेवास्ता गर्छ, अस्पताल प्रशासनको यो चरम लापर्वाही पनि हो । समितिले पनि कर्मचारीले माग दाबी गरे अनुसार भत्ता थपि दिए पनि कर्मचारीले अस्पतालको घाटा गराउन किन मौन ? यो पनि गम्भीर विषय रहेको नागरिक समाजको तर्क थियो ।

अस्पताल विकास समितिको हालै बसेको बैठकले चिकित्सक बाहेक मेसुलाई चिकित्सा तलब भत्ता बाहेक मासिक १५ हजार, लेखालाई मासिक १२ हजार, प्रशासनलाई मासिक १२ हजार, अस्पताल ब्यवस्थापकलाई मासिक १२ हजार, मेडिकल रेकर्डरलाई मासिक साढे ८ हजार र कार्यालय सहायकहरूलाई मासिक साढे ५ हजारका दरले भत्ता दिईने निर्णय गरेको छ । तर सो निर्णयबारे आफुहरूलाई जानकारी नभएको पछि थपिएको प्रतिकृया समितिकी सदस्य सरिता पौडेलले बताएकी थिईन् । अर्को बैठकमा सो भत्ता निर्णय फिर्ता हुने र अस्पतालको घाटा रकमबारे छानविन गरि निकास निकाल्ने प्रतिकृया अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले प्रतिकृया दिएका छन् । अस्पतालमा आर्थिक ब्यवस्थापनका लागि दुई चार लाखका लागि समिति पालिका धाउने र कर्मचारीले लाखौं घाटा गराउने प्रति समिति पनि गम्भिर रहेको उनको भनाइ थियो । अस्पतालमा सरुवा भई आएका निमित्त मेसु डा.नुरुल होला सेवाकालिन तालिममा छन्, निमित्तको रुपमा हाल डा.किरण पाण्डेले अस्पतालका मेसु भई सञ्चालन गर्दै आएका छन् ।

बीमा रकमका लागि पटक पटक बिमा कार्यालयलाई जानकारी गराउँदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सूचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताएका थिए । उनका अनुसार विगत देखि पनि बीमाको रकम आउन बाँकी थियो ।

अहिले पनि बीमा सेवामा खर्च हुने रकम बढदै गएको छ । उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ, । औषधी टेण्डर मार्फत खरिद गरिन्छ,सो रकम औषधी दाखिला गरेर भुक्तानी दिई हाल्नु पर्छ । अन्य चिकित्सकलाई दिईने भत्ता रकमहरू पनि रोक्न सकिदैन् । अस्पतालको आफ्नो अन्य स्रोत छैन्, सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुजिँ जस्तो राख्ने जस्तो प्रावधान हुँदैन्, तर बीमा बोर्डले रकम लामो समयसम्म नपठाई दिँदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या हुने उनको भनाई थियो ।

कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा बीमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपियाँ मात्र पठाएको छ । बीमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतीकै दाबी नै अस्पतालले गर्न सकेन् । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपिया मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाई दिएन् । अहिले शल्य क्रियामा सिमा बढाउँदा सो सिमा अनुसार काम गर्दा बीमा रकम बढेर जाने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?