Butwal Today

देखिएन तिजको मौलिकता र महत्व

२३ भाद्र २०८१, आइतबार
अ+
अ-

नेपाली साँस्कृतिक पर्वहरुको महत्वपूर्ण पर्वका रुपमा हरितालिका तिज नेपाली महिलाहरुको महान पर्वको रुपमा मानिने चाड हो । हिन्दु धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले गौरीघाटमा वसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिईन । पिता हिमालयले पार्वतीको ईच्छा विपरित विष्णुसंग विवाह गरिदिन खोजेपछी उनले आफ्नो समस्यालाई संगीहरु संग सुनाई आफुले शिववाहेक अरुसंग विवाह नगर्ने अठोट गरेको विस्तार पछी पार्वतीका साथीहरुले उनलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । लुकेर वसेकै ठाउँवाट पार्वतीले निराहार व्रत वसी महादेवलाई प्राप्त गरेको कुरा विभिन्न धर्म ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरेको पाईन्छ । पार्वती साथीहरुसंग हरण भएको दिन भाद्र शुक्ल तृतियाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन शुरु भएको मान्यता छ ।
हरितालिका तिजको मौलिकता र वास्तविकतालाई नियालेर हेर्ने हो भने भाद्र शुक्ल द्वितियका दिन दर खाएपछी औपचारिक रुपमा तिज शुरु हुने र भाद्र शुक्ल पञ्चमीको दिनसम्म मनाईन्छ । तृतियाका दिन हरितालिका व्रत चौथीका दिन गणेशको पुजा र पञ्चमीको दिन स्नान गरी दतीवन खाई अरुन्धती सहित सप्तर्षिको पुजागरी तिज समापन हुने प्रचलन र वास्तविकता मानिन्थ्यो । माईतीले चेलिवेटीलाई वोलाएर द्वितियाका दिन दर खुवाउने परम्परा वास्तविकता थियो । तिजको व्रत स्वास्थ्यको ख्याल गर्दै निराहार वस्ने प्रचलनले व्रतालुले मिठामिठा र आडिला परिकार दरका रुपमा खाने र विशेषगरी माईती घर वा मावली घरका आफन्तहरुले आफ्ना चेलिवेटीहरुलाई वोलाएर दर खुवाउने परम्पराको वास्तविकता थियो र यसमा तीजको मौलिकता पाईन्थ्यो । महिलाले वर्षदिनसम्म आफुलाई परेका दुःखपिर र मर्कालाई तिजको गितको लयमा वेदना पोख्ने, तिजका अवसरमा गितका माध्यमवाट पिरमर्कालाई सार्वजनिक गर्ने जन्मघरवाट कर्मघर गई वस्दा पाएका दुःखपिर मर्कालाई गितको लयमा वताउने वास्तविक प्रचलन थियो । तिजका गितमा नेपाली लोकसाँस्कृतिक झल्काउने संस्कृति जोगाउने र संस्कृतिको जगेर्ना गर्ने भाका गाईन्थ्यो । यहि वास्तविकतामा हरितालिका तिजको मौलिकता पाईन्थ्यो । तर, अहिले पछिल्लो समयमा आएर तिज मनाउने तरिकाले फरक मोड लिएको पाईएको छ ।

पछिल्ला वर्षहरुमा तिजका नाममा उश्रृंखलता र तडकभडक वड्दै गएको देखिन्छ । साउने संक्रान्तिदेखि नै तिजको दरखाने अभियान शुुरु गरिएको हो । गहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधीले तिजको संस्कृतिलाई विकृतिको रुपमा नलैजाला भन्न सकिन्न । पछिल्लो समयको फेसन देखाउने खालको तिजको दरखाने र गरगहना प्रदर्शन, पोशाक प्रदर्शन गर्ने र आफ्नो औकात नहेरी छिमेकीको देखासिकी गरी तिज मनाउन लाग्दा एकातिर साँस्कृतिक पर्वको मौलिकता हराउने र अर्कोतर्फ अवस्था कमजोर भएकाहरुलाई रहरको र देखासिकीको दरले पारिवारिक जीवनमा समस्या निम्त्याउने कुरामा कुनै दुईमत छैन ।
अर्काको लहलहैमा उसले ग¥यो, म किन नगर्ने भन्ने सोचाईले र तिजको मौलिकता र वास्तविकतालाई विर्सिनाले तिजको दरखाने चलन र तिज मनाउने चलन अहिले निकै फरक र मौलिकता विपरित देखिन थालेको छ । विभिन्न समाचारका माध्यमहरुले ल्याएका समाचार र प्रदर्शन गरेका फोटो फिचरहरु देख्दा तिजमा लगाउने रातो सारी नेपाली मौलिकता झल्किने पोशाक हिन्दु नारीहरुको श्रीमानहरुको दिर्घायुको कामनाको प्रतिकको रुपमा मानिने नारीहरुले प्रयोग गर्ने सिन्दुर, टिका, पोतेलाई ओझेल पार्दै अलि उत्ताउला खालका पश्चिमेली सँस्कृति झल्काउने पोशाक लगाउने, पुरै शरीर नछोप्ने खालका फरक रंगका पोशाक र महंगा खालका गरगहना लगाउने र फरक खालका डिस्को गितहरुमा नाच्ने र घरायसी उत्पादित खाना र तिजको मौलिकता झल्कने खाना खानुको सट्टा वजारीया होटलका प्याकिंग गरेर ल्याईएका खाद्य परिकारको प्रयोगले एकातर्फ तिजको मौलिकता हराएको आभाष गराएको छ भने अर्कोतर्फ यी खानाले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने साथै पारिवारीक आर्थिक र सामाजिक रुपमै समस्या र नकारात्मकता नआउला भन्न सकिन्न । त्यसैले हरेक साँस्कृतिक पर्वलाई साँस्कृतिक पर्वको मौलिकता झल्कने र पर्वको वास्तविक अर्थ वुझेर पर्व मनाऔं । घाँटी हेरेर हाड निलौ ।

एक सालको पर्व मनाईले परिवारका सदस्यको टाउकोमा आपर्थक भार नथुपारौं । छिमेकीको देखासिकी होईन आफ्नो औकात अनुसार पर्व मनाऔं । छिमेकीले के भन्ला भनेर वा उसले गर्यो म किन नगर्ने भनेर आफ्नो अवस्था नहेरी कुनैपनि पर्व नमनाऔं । साँस्कृतिक पर्व मनाउँदा वास्तविकता के हो वुझी पर्वको मौलिकता झल्कने गरी मनाऔं । र, व्रत वस्दा निराहार वस्ने भनेर स्वास्थ्यको ख्याल नगरी नवसौं । आफ्नो शरीरको अवस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्वको मौलिकता झल्कने गरेर व्रत वसौं । प्रतिष्पर्धामा हैन स्वतः स्फुर्तरुपमा आफूले र आफ्नो औकातले धान्न सक्ने गरी र स्वास्थ्यले सहन सक्ने गरी साँस्कृतिक पर्वहरु मनाऔं । पर्वलाई मनाउने निहुँमा विकृति नभित्राऔं । साँस्कृतिक पर्वको विशाल मौलिकतालाई कोठामा सिमित नगरौं । पर्वलाई केवल फेसवुक र टिकटकमा देखाउनका लागीमात्र पर्व नमनाऔं । साँस्कृतिक पर्वले दिन खोजेको वास्तविक अर्थ र पर्वको वास्तविक मौलिकता र यथार्थतालाई नभुलौं । पाश्चात्य साँस्कृतिको देखासिकी नगरौं । आफ्ना पर्व मनाउँदा स्वतः रुपमा आत्मीयता उजागर गर्ने र स्वतः स्फुर्तरुपमा भावुकता आउने गरी पर्व मनाऔं । र, खानपानमा अत्यन्तै ध्यान दिऔं । हरितालिका तिज २०८१ को हार्दिक मंगलमय शुभकामना ।