© 2026
बुटवल, १५ भदौ ।
बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा आयोजना भएको प्रथम तिज महोत्सव २०८१ को उपाधि त्रिभुवन अक्सफोर्ड टोल विकास संस्थाले जितेको छ । शनिबार भएको प्रतियोगितामा ११ टिमलाई पछि पार्दै त्रिभुवन अक्सफोर्ड टोलले उपाधि जितेको हो ।
उपाधिसंगै संस्थाले नगद १५ हजार रुपैयाँ समेत हात पारेको छ । कुसुम टोल विकास संस्थाले आयोजना गरेको प्रथम तिज महोत्सव २०८१ साथै दर खाने कार्यक्रममा सृजना संस्कृतिक आमा समूह दोस्रो हँुदै नगद १० हजार तथा भानुटोल पारिजात टोल विकास संस्था तेस्रो हुँदै नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत भयो ।
एक समारोहका बिच वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले सहभागी धर्मकल्याण टोल संस्थाका सदस्यलाई मादल हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । तिजको मौलिकता जोगाउने र विकासमा टोल संस्थाको भूमिकाका बिषयमा सहभागी टोल संस्थाका कलाकारहरुको प्रस्तुती धेरै राम्रो रहेको उनले बताए ।
कार्यक्रममा कुसुम टोल विकास संस्थाका अध्यक्ष नारायण खनाल (लेकाली) ले तिजको अवसरमा रचनात्मक प्रतियोगिता तथा दर खाने कार्यक्रम गरेको बताए । विभिन्न दाताहरुबाट सहयोगका साथै एक घर एघार सयको अभियान चलाएर कार्यक्रम गरिएको बताए । तिजको संस्कृतिलाई टोल विकास संस्थासंग जोडेर नयाँ रुपमा कार्यक्रम गर्न सफल भएको उनले बताए । सभ्य समाज निर्माणमा टोल संस्थाबाट चलाउने सचेतना कार्यक्रम, हिसा रोक्न चालेका अभियानका बारेमा गितबाट बताएका थिए । यसैगरी युवालाई देशमै स्वरोजगारमुलक तालिम दिने, उद्योग कलकारखाना खोल्नेतर्फ जोड दिए ।
राष्ट्रिय कलाकारहरु नबिन पौडेल, मन्जु भट्टराई, सबिना भुसालको प्रस्तुती रहेको कार्यक्रममा ४ लाख ५० हजार रुपैया खर्च भएको संस्थाका कोषाध्यक्ष खगेन्द्र प्रसाद बेल्बासेले बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि प्रसाद ज्ञवाली, सचिव विष्णु कंडेल, कार्यक्रम संयोजक कमला जोशीले पहिलोपटक गरिएको प्रतियोगितामा लागि धेरैको सहयोग मिलेको भन्दै टोल विकास संस्थाको आफ्नो भूमिका र सरकारबाट हुनुपर्ने पहलका बारेमा गितबाट धेरै बाहिर आएको बताए । प्रतियोगितामा १२ टिमका १५ जनाको दरले भाग लिएका थिए ।