Butwal Today

टाटा पन्च ईभीको अर्थमन्त्रीले गरे सार्वजनिक, सुरुवाती मूल्य ३३ लाख ९९ हजार

११ भाद्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली बजारमा टाटा मोटर्सको पन्च ईभी सार्वजनिक भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले टाटा मोटर्सको पन्च ईभी आजदेखि सुरु भएको नाडा अटो सोमा सार्वजनिक गरेका हुन्।

ईभीसँगै यसको मूल्य पनि सार्वजनिक गरिएको छ। अधिकृत विक्रेता सिप्रदी ट्रेडिङका अनुसार पन्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ।

पन्च ईभी ३ भेरिएन्टमा नेपाली बजारमा प्रवेश गरेको हो।

यसअनुसार पन्च ईभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च ईभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। नाडा अटो सोमा सार्वजनिक गर्न कम्पनीले यसअघि नै पन्च ईभी नेपाल ल्याएर भूगोलअनुसार परीक्षण गरेको थियो।

३०० किम रेन्ज दिने
टाटाको पन्च ईभीले नेपाली सडकमा ३०० किम रेन्ज दिने ड्राइभ टेस्टबाट देखिएको छ।

सिप्रदी ट्रेडिङले नेपालमा पन्च भित्र्याएर करिब १ महिना गुडाउँदा एक पटकको चार्जमा ३०० किमिसम्म रेन्ज दिएको हो।

विद्युतीय गाडीको रेन्ज २० देखि २५ किलोमिटर फरक पर्छ। पन्च ईभी काठमाडौंबाट दामनदेखि चितवनलगायत नेपालका धेरै ठाउँमा पुर्‍याइएको कम्पनीले जनाएको छ।

पन्चमा ३५ किलोवाटको ब्याट्री छ। भारतमा सेफ्टी क्रयास रेटिङमा ५ स्टार पाएको पन्चमा ६ वटा एयरब्याग छन्। यसमा सिटी र स्पोट्र्स २ मोड छन्। कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएका छन्।

आधुनिक फिर्चसमा ३६० भ्यू क्यामेरा, ब्लाइन्ड स्पोट मनिटर, वायरलेस स्मार्ट फोन चार्जर, मल्टिपल भ्वाइस एसिस्टेन्ट, अटो हेडल्याम्प छ।

गाडीको लम्बाइ ३८ सय ५७ एमएम, १७ सय ४२ चौडाइ र उचाइमा १६ सय ३३ एमएम र ह्विलबेस २४ सय ४५ एमएम छ। ३.३ किलोवाट एसी चार्जरबाट ९.४ घण्टा लाग्छ भने ७.२ किलोवाटको एसी चार्जरबाट ३.६ घण्टा लाग्छ।

५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशतसम्म ५६ मिनेटमै पुग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?