Butwal Today

कर्मचारी संगठन रुपन्देहीले सुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

३ भाद्र २०८१, सोमबार
अ+
अ-

बुटवल, ३ भदौ ।

संघीय निजामती ऐनको माग गर्दै कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने भएको छ ।

रुपन्देहीमा क्रियाशिल संगठनहरु आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष चक्रपाणी पाण्डे र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष उत्सव न्यौपानेले संयुक्त विज्ञप्ती निकालेर अव संयुक्त हस्ताक्षर अभियान चलाउने घोषणा गरेका हुन् ।

“यथाशीघ्र संघीय निजामति सेवा ऐन र लुम्बिनी प्रदेश सरकारको स्थानीय सेवा ऐन जारी गर्नको लागि दवाव स्वरुप बृहत हस्ताक्षर अभियान संचालन गर्न लागिरहेका छौ”–विज्ञप्तीमा भनिएको छ । अभियानबाट संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेकोले रुपन्देहीका सम्पूर्ण कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर गरी रचनात्मक आन्दोलनमा सक्रिय सहभागिताको लागि उनीहरुले आव्हान समेत गरेका छन् ।

प्रस्तावित निजामती सेवा ऐनको सन्दर्भमा राष्ट्रिय स्तरका ट्रेड युनियनको सक्रियतामा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन रुपन्देहीले विभिन्न सेवा र समूहका कर्मचारीहरुको सुझाव अनुरूप ८४ बुदे माग पत्र आधिकारीक ट्रेड युनियन केन्द्र मार्फत प्रधानमन्त्रीलाई २०७७ साउन १५ गते बुझाएको थियो ।

२०८० फागुन २१ गते सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका केही प्रावधानहरुमा राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारीक ट्रेड युनियनको विमती रहेको उल्लेख गर्दै विज्ञप्तीमा ती प्रावधानको संशोधनका लागि १५ सय ८३ वटा संशोधन प्रस्ताव संसदमा दर्ता भएको उल्लेख गरिएको छ । संसदको राज्य व्यवस्था समितिमा छलफल हुन विलम्ब भएको विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले संयुक्त रुपमा पेश गरेको संशोधन प्रस्तावलाई समेटी यथाशीघ्र कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन संसदबाट पास गरी लागु गर्न उनीहरुले माग गरेका छन् ।