Butwal Today

सेयरबजारमा फेरि नयाँ रेकर्ड, नेप्से परिसूचक ३० महिनायताकै उच्च बिन्दुमा

२८ श्रावण २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

सेयरबजारमा सोमबार पनि सूचकले २९ सयमाथिको यात्रा गरेसँगै कारोबारले पनि नयाँ रेकर्ड राखेको छ।

सोमबार नेप्से सूचक ७०.८१ अंकले बढेर २९३१.६५ अंकमा बन्द हुँदा २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो । आइतबार २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो।

डेढ महिनाको अवधिमा ९ सय अंकले माथि उक्लिएको सूचकमा लगानीकर्ता उत्साहित बन्दा कारोबार रकमले अघिल्लो पटकको बुलको रेकर्डलाई छोडेर २७ अर्बमा पुगेको हो।

आज लगानीकर्ताले खरिद चाप बढाउँदा जीवन बिमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन पुगे। कारोबामा आएका १२ वटा जीवन बिमा कम्पनीको सेयरमूल्यमा उल्लेख्य वृद्धि देखिएको हो। यो समूहको सूचक ५.८५ प्रतिशतले बढेको छ। मूल्यगत आधारमा सर्किट लाग्नेमा भने सूर्यज्योति लाइफ र हिमालयन लाइफ रहेका छन्।

समूहगत रुपमा आज वित्त समूहका कम्पनीहरुको सूचक पनि ४.८१ प्रतिशतले बढेको छ भने लगानी र उत्पादन प्रशोधन बाहेकका सबै समूहका सूचक सामान्य प्रतिशतले बढेका छन्।

आज दुई लाइफ इन्स्योरेन्सबाहेक जोशी हाइड्रो, रसुवागढी हाइड्रो, श्वेत गंगा हाइड्रो, शुभम पावर र भिजन लुम्बिनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

कारोबारका आधार भने आज पनि हिमालयन रि इन्स्योरेन्स अगाडि छ। यो दिन १ अर्ब २२ करोडको सेयर कारोबार गर्दा सिवम सिमेन्टको ९२ करोड रुपैयाँको सेयर कारोबार गरेका हुन्।