Butwal Today

आमालाई लिएर बोलबम धाम जाँदै गरेका छोराले दुर्घटनामा गुमाए ज्यान, आमा गम्भीर

२८ श्रावण २०८१, सोमबार
अ+
अ-

बुटवल, २८ साउन ।

साउनको अन्तिम सोमबार बोलबम दर्शन गर्न गएका बुटवलका एक युवाको दुर्घटनामा मृत्यु भएको छ । स्कुटरमा आमासँगै मन्दिर दर्शनका लागि गएका बुटवल–१३ बेलबासका अंकृत पाठकको मोटरसाईकलको ठक्करबाट ज्यान गएको हो । दुर्घटनामा परी अंकृतकी आमा गम्भीर घाइते भएकी छन् ।

बुटवलको बेलबासमा अंकृत आफैले चलाएको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

अहिले आमाको आइसियुमा उपचार भइरहेको छ । दुर्घटनामा उनीहरूलाई ठक्कर दिने मोटरसाइकलका चालक पनि गम्भीर घाइते छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले सोमबार बिहान भएको सो घटनामा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको र दुई जना घाइते भएको जानकारी दिए ।

सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छन् । साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

आमालाई लिएर बिहानै उनी बोलबम मन्दिर जाँदै गरेको अवस्थामा घटना भएको स्थानीय डिआर घिमिरेले बताए ।

राजमार्ग क्षेत्रमा बुटवलको जीतगढीदेखि बेलबाससम्मको क्षेत्रमा बढी दुर्घटना हुने गरेको र सडक छेउँमा व्यवसाय गर्नेहरूलाई व्यवस्थित गरेर राजमार्ग क्षेत्रको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।