© 2026
चन्द्रौटा (कपिलवस्तु), २३ साउन ।
मुगु जिल्लाको खत्याड गाउँपालिकाकी मेनुका रोकाया (परिवर्तित नाम) कक्षा ११ मा अध्ययन गर्दै थिइन् । उमेरले उनी यतिबेला १९ बर्षकी भएकी छन् । उनको घरमा १० जनाको परिवार छ । आमा, बाबा कृषि पेशा गर्दै आएपनि मासिक करिब १० दश हजार आम्दानी थियो । त्यो आम्दानीले घर खर्च चलाउन निकै सकस भएको मेनुकाले बुझिन । ११ कक्षाको अध्ययन पूरा नहुँदै उनी बीचमा छाडिन् ।
करिब दुई महिना अगाडि उनलाई नयाँ नम्बरबाट फोन आउँछ । उनलाई फोन गर्ने दाङ जिल्ला घर भएकी ३२ बर्षकी सविना (परिवर्तित नाम) गिरीसँग चिनजान भई कुराकानी हुँदै जाँदा गिरीले नेपालमा यत्तिकै खाली बस्नु भन्दा भारतको पटनामा राम्रो आम्दानी हुने कामको प्रलोभन देखाउँछिन् । गिरीले रोकायालाई प्रलोभन पश्चात भारतको पटनामा मोर्डन फेसन कम्पनीमा लगी १ हप्तासम्म विभिन्न किसिमका कक्षाहरूमा सहभागी गराई प्रलोभनमा पारी १ लाख आइसी लगानी गर्नुपर्ने बताउँछिन् ।
एक लाख लगानी गरेपछि मासिक ३० हजार आइसी कमाई हुने बिचौलिया गिरीले भनेअनुसार रोकायाले नेपाल आइ भारतमा रहेका एक व्यक्तिको बैंक खातामा ९० हजार रूपैया जम्मा हुन्छ । थप साथी भारत ल्याए बापत दोब्बर हुने भनेपछि मेनुकाले आफ्नो पाल्पामा आफ्नो बहिनीलाई भेट्न जाँदा चिनजान भएकी बहिनीकी साथी हुम्ला जिल्ला घर भएकी वर्ष १९ की रिता बोहोरा (परिवर्तित नाम) लाई समेत प्रलोभनमा पारी सहमत गराई बुटवल आई अर्का साथी प्यूठान जिल्ला घर भएको बर्ष ३० को जीवन (परिवर्तित नाम) मगरसँग भेटी कृष्णनगरको नाका हुँदै भारतको पटना लैजान लागेको लाई उद्वार गरिएको शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय संयोजक भुमिराज भट्टराईले जानकारी दिए ।
यस्तै सामाजिक सञ्जाल तथा अन्य माध्यमले भारतसहित तेस्रो मुलुकमा बेचिएका तीन सय बढीलाई उद्वार गरिएको छ । गत आर्थिक बर्ष २०८०/०८१ मा ३ सय ४६ जनाको उद्वार र ९ हजार ८ सय २२ जनालाई परामर्श गरिएको गृह कपिलवस्तुले जनाएको छ । उद्धार गर्नेमा सबैभन्दा बढी रोल्पा, बागलुङ, स्याङजा, कपिलवस्तु लगायत जिल्लाहरूको सयौँ चलीहरूको रहेका छन् ।
उद्धार भएकोमा ३ सय ९ जना अति जोखिममा परेको थिए । यस्तै १८ देखि २५ बर्ष उमेर समूहका १५० जना, १६ देखि १७ उमेर समूहका ५९ जना, ११ देखि १५ उमेर समूहका ४९ जना, २६ देखि ३० उमेर समूहका ४४ जना, ३० बर्ष देखि माथि ३५ जना र अन्य उमेर समूहका गरी ३ सय ४६ जनालाई उद्धार गरिएको शन्ति पुनस्र्थापना गृह कपिलवस्तुको प्रतिबेदनमा उल्लेख छ ।
पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । जसले नागरिकलाई सहजता समेत प्रदान भएको छ । सञ्जालको प्रयोगकर्ता बढेसँगै विकृति पनि उत्तिकै बढेको छ । केहि समय पहिले मानव तस्करले गाउँघरका सोझा–साझा आम मानिसलाई सिधै सम्पर्कमा ल्याई भारत लगायत तेस्रो मूलुकमा बेचबिखनका भएका घटना हुने गरेको थियो तर यतिबेला भने सो तस्करको रूप भने फेरिएको छ ।
फेसबुक, वाटसप, भाइबर, इस्टाग्राम, स्नेपच्याट जस्ता सामाजिक सञ्जालको प्रयोगले मानव तस्करका घटना मौलाएको गृह कपिलवस्तुका संयोजक डिल्लीराज तिमिल्सिनाले बताए । उद्वार हुनेमा जनजातिमा १ सय ३२, दलितमा १ सय २४, बह्रामण-क्षेत्री ६१ र अन्य समुदायका २९ जना चेली रहेको संयोजक तिमिल्सिनाले बताए । उनका अनुसार मानव बेचविखन हुने मुख्य कारणको रूपमा अवसरको खोजी रहेको छ । भारत हुँदै तेस्रो मुलुक जाने, आर्थिक, रोजगारीका अवसर, नेटवर्किंङ बिजनेस लगायतका अन्य प्रलोभन रहेको उनले जनाए ।