Butwal Today

पहिरो रोक्न बायो–इञ्जिनियरिङ्ग

२२ श्रावण २०८१, मंगलवार
अ+
अ-

प्युठान, २२ साउन ।
मल्लरानी–रतनमारे–तम्घास जोड्ने सडक निर्माण पश्चात निम्तिएको क्षति न्यूनीकरण गर्न बायो–इञ्जिनियरिङ गर्न थालिएको छ । सडक डिभिजन कार्यालय प्युठानले अत्यधिक भुक्षय भएका स्थानहरूमा भुक्षय रोक्ने प्रयासहरू गरिएको जनाएको छ ।
बासका भाटा र काठको प्रयोग गरि सडकदेखि तल्ला भूभागहरूमा माटो बग्न नदिने गरी बायो–इञ्जिनियरिङ गरिएको सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी इञ्जिनियर राजेन्द्र कार्कीले जानकारी दिए । निर्वाचन क्षेत्र सडक अन्तरगत मल्लरानी–रतनमारे–तम्घास सडकमा पर्ने खलङ्गा–बुकेनी–सोलाहाल्ना खण्डमा भएको भूक्षयले प्युठान नगरपालिका ९ र १० मा १८ घर विस्थापित गरेको थियो । ‘यस क्षेत्रमा गहरा बनाउने र हाँगाबाट हुर्कने विरुवाहरू रोप्ने विधि अपनाएका छौं,’ कार्कीले भने ‘माटोको भूक्षयीकरण हुन नदिइ अड्याएर राख्न यो विधिको प्रयोग गरिएको हो ।’ गत वर्षदेखि बाढीले प्रभावित गरेको मरन्ठानाको बुढादेवि वस्तिभन्दा माथि बायो–इन्जिनियरिङको काम हुन थालेको हो । उक्त काम सुरु भइसेकेको छ ।

बायो–इन्जिनियरिङ अन्तर्गत वृक्षरोपण र बिरुवाजन्य संरचनाहरूबाट माटोको क्षयीकरण नियन्त्रण गरिन्छ । भौगोलिक संरचना र भू–बनोटको अवलोकन गरी बायो–इन्जिनियरिङको काम अगाडि बढाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताए । ‘हामीले त्यहाँको भौगोलिक अवस्थाको अनुगमन गरेर बायो–इन्जिनियरिङको काम तत्काल अगाडि बढाउन भनेका छौँ ।’ अर्यालले भने– ‘धेरै ठाउँको पानी जम्मा भएर एकै ठाउँमा ह्युमपाईप बाट जाँदा पनि जमिनको धेरै क्षयीकरण भएको देखियो । त्यसैले ति पाइप बन्द गरेर पानीलाई विकेन्द्रित हुन दिन भनेका छौँ ।’ श्रावण १० र १६ गते उक्त क्षेत्रमा बाढी पसेको थियो ।