Butwal Today

५० प्रतिशत बढी मुद्दा सम्बन्ध बिच्छेदका

१९ श्रावण २०८१, शनिबार
अ+
अ-

गुल्मी, १९ साउन ।
गुल्मीमा आजभोली सम्बन्ध विच्छेदका मुद्दाहरूको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । गुल्मी अदालतले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा छ सय ७४ थान मुद्दाहरू मध्य तीन सय ८३ थान मुद्दा सम्बन्ध बिच्छेदका मात्र रहेको पाईएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा अदालतमा दर्ता भएका छ सय ७४ थान मुद्दाहरू मध्य तीन सय ४९ थान मुद्दा फछर्यौट भैससकेका छन । गुल्मी जिल्ला अदालतले बार्षिक कार्य योजनाले निर्धारण गरे अनुसार फैसला गर्नुपर्ने चार सय ५४ मुद्दाहरू मध्य असार मसान्तसम्म चार सय ८० थान मुद्दा फछर्यौट गरिएको जिल्ला न्यायाधीश युवराज गौतमले जानकारी दिए । उनले लक्ष्य भन्दा २६ थान बढी मुद्दा फछर्यौट गरेको बताए ।
अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरूको संख्या अनुसार ५० प्रतिशत भन्दा बढी मुद्दाहरू सम्बन्ध बिच्छेदका मात्र रहेका छन । उक्त मुद्दाको लगत गत आवमा तीन सय ८३ रहेकोमा तीन सय दश थान मुद्दा फछर्यौट भई ७३ थान मुद्दा अझै फछर्यौट हुन बाँकी रहेको बताईएको छ । जस अनुसार पुरुषवादी मुद्दा ६५ र महिलावादी सम्बन्धबिच्छेद मुद्दा तीन सय १८ थान छन । उक्त मुद्दा मध्य पुरुषवादी तर्फ २२ र महिलावादी तर्फ ५१ थान मुद्दा चालु अबस्थामा रहेको जिल्ला न्यायाधिश गौतमले बताए ।

सानै उमेरमा युवा युवतीहरू बीच प्रेम सम्बन्ध हुने र त्यही सम्बन्धका आधारमा हतारमै विहे गर्ने प्रचनका कारण सम्बन्ध बिच्छेद गर्नेहरूमा २० देखि ३० वर्ष उमेर समूहको संख्या बढी रहेको छ । साथीहरूको सँगतमा लागेर हतारमा बिहे गर्ने र फुर्सदमा पछुताउने भएका कारण पनि सामान्य भनाभन र स‐साना झगडाका कारण पनि जिल्लामा सम्बन्ध बिच्छेद गर्ने प्रचलन बढेको हो । पछिल्लो समयमा वैदेशिक रोजगारी पनि सम्बन्ध बिच्छेदको मुख्य कारण बन्दै गएको बताईएको छ । गुल्मी अदालतमा सम्बन्ध बिच्छेद गर्नेहरूमा ७२ वर्ष उमेरसम्मका रहेका छन । त्यसैगरि करणी सम्बन्धि दर्ता भएका १८ थान मुद्दामा आठ थान मुद्दा फस्र्योट भैसकेको र दश थान मुद्दा फछर्यौट हुन बाँकि रहेको अदालतले जनाएको छ । विशेष प्रकृतिका निवेदन अन्र्तगत मृत्युको न्यायीक घोषणाका ३० थान लगत रहेकोमा २१ थान फछर्यौट भएको र नौं थान बाँकी रहेका छन ।

त्यसैगरि थुनुवातर्फ ५४ वटा मुद्दा रहेकोमा ३८ थान फछर्यौट भई १६ थान बाँकी रहेको छ । गुल्मी अदालतमा दर्ता भएका अन्य मुद्दाहरूको तुलनामा सम्बन्ध बिच्छेदका मुद्दाको संख्या दिनानुदिन बढ्दै गएकोे छ । पछिल्लो समयमा गुल्मी जिल्ला अदालत मुद्दा फछर्यौट गर्ने काममा अब्वल बनेको छ  ।