Butwal Today

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत: सातै प्रदेश इन्चार्ज तोकियो

१७ श्रावण २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा (एमाले) को सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ।

सिंहदरबारअगाडि रहेको बसेरा होटलमा बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त थियो।

साथै स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने, लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ।

साथै सातै प्रदेश इन्चार्ज पनि तोक्ने निर्णय भएको छ।

कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्यमा अर्याल,  कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।

केन्द्रीय सदस्यमा सुवास कर्मचार्यलगायत १७ जना मनोनीत गर्ने निर्णय पनि भएको छ।

कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको एमालेले जनाएको छ।