© 2026
गुल्मी, ११ साउन ।
गुल्मीका कृषकहरूलाई यतिबेला खेतमा धान रोपाइँको चटारो छ । साउन महिनाको शुरुवातसँगै पानीका मुहानहरू फुटेपछि किसानहरू धमाधम खेत रोपाइँमा व्यस्त बनेका हुन । जिल्लाका अधिकाँस कृषकहरूले खेतमा रोपेको मकै र चैते धान भित्राएपछि धान रोप्ने गर्दछन ।
साउन महिनाको दोश्रो सातासम्म आईपुग्दा जिल्लामा हालसम्म ८७ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्य ६ हजार ९ सय ४९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भैसकेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन ।
भण्डारीका अनुसार गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घटने बताईएको छ । रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइँसराइँ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला, भनको समयमा काम गर्ने मानिस नपाउनु लगायत समस्या रहेको भण्डारीले बताए ।
गत वर्ष साउनको दोश्रोसातासम्म ७० प्रतिशत क्षेत्रफमा मात्र धान रोपाइँ गरिएको थियो । दिनहुँजसो लगातार रूपमा पानी परेका कारण किसानहरूले यस पटक छोटो अबधिमा धेरै खेत रोप्ने अवशर पाएका हुन । यस पटक जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष ९० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत भण्डारीले जानकारी दिएका छन ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा शुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका हुन । यस पटक धान रोप्नको लागि आकाशे पानीको भर पर्नु परेन । समयमै पानी परेपछि सिँचाईको समस्या नपरेको कारण किसानहरू पनि चाँडो खेत रोप्न पाएकोमा खुसी छन ।
जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ्ग, शान्तिपुर, मजुवा लगायतका फाँटहरू धान उत्पादनको लागि मुख्य ठाउँको रूपमा चिनिन्छन । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान र अन्य सबै खेतमा बर्खे धान रोप्ने गरिन्छ । गुल्मीमा मकैपछि दोश्रो प्रमुख बालीको रूपमा रहेको धान खेतीबाट गत वर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।