Butwal Today

सिँचाईले ल्यायो खुसी

१ श्रावण २०८१, मंगलवार
अ+
अ-

पाल्पा, १ साउन ।

पाल्पा रामपुर वराहटारकी इश्वरी सेन खेतमा पानीको पालो पर्खनु भन्दा खेत नै बिक्री गर्न खोजेकी कृषक हुन् । टाढाबाट कुलो बनाएर पानी ल्यायो तल सम्म आई पुग्दा आधा पानी चुहिएर खेर गएपछि हारै मानेर पानी लगाउन दु.ख गर्न भन्दा खेत नै बिक्री गर्न खोजेको उनी बताउँछिन् ।

खेतमा पानी लगाउने कुलाको व्यवस्थित नहुँदा समस्यामा परेका २० भन्दा बढी घर परिवारले सदैव हैरानी खोप्नु परेको थियो । समथर जमिन त्यसमाथि उर्वर भएपनि सिंचाइको समस्याका कारण खेतबाट आम्दानी लिन कठिन थियो । यस क्षेत्रमा २ सय रोपनी क्षेत्रफल रहेको जमिनमा आधा जमिन आकासे पानीमा निर्भर हुनु परेको र कुलो जति बनाए पनि आधा भन्दा बढी पानी चुइहिएर जाने गरेको थियो । हामी भन्दा अगाडिका यस जमिनका पुस्ताले पनि कुलोको निम्ति सास्ती नै खोप्नु परेको र हाम्रो आधा जिवन पनि सास्ती नै खेपेर बितेको स्थानीय डम्बर खनाल बताउँछन्

समय समयमा आवश्यक मल, बिउ, समय समयमा तालिमका लागि भनेर गठित बराह कृषि सहकारी यतिखेर सिचाईको मुख्य सहयोगी भएको स्थानीयहरु बताउँछन् । गत वर्ष कृषि ज्ञान केन्द्रमा कम लागतमा सम्पन्न गर्न सकिने योजनाको सुचना प्रकाशित भयो । सहकारीले सिचाइका लागि गरेको प्रस्ताव योजना छनोटमा प¥यो । स्थानीय जनताको सहभागितमा समेत ५ लाख लगानीमा कुलो निर्माण भएपछि विगतमा सिचाइको कारणले बिक्री गर्छु भन्नेले आज बिक्री गर्दिन भन्न लागेको स्थानीय जमुना राना बताउँछिन् । यसबाट धान बालीका लागि मात्र नभई हिउँदे वालीका लागि समेत उपयुक्त हुने भएकाले सिचाइको खुशीयाली थपिदिएको कृषकहरु बताउँछन् ।

विगतमा कृषि विकास कार्यालयले साना सिचाई भन्ने कार्यक्रम संचालन गर्दै थियो । मुलुक संघीय संरचनामा परिवर्तन भएपछि सेवा क्षेत्रको स्वरुप बदलियो त्यही कार्यक्रमलाई सिचाई सहित कृषि विकास बजेट थप भई संचालन गरेको ज्ञान केन्द्रका प्राविधिक लव कुश कुर्मी बताउँछन् । “सिचाईको माध्यमबाट कृषकहरुको जीवनस्तर उठाउने हाम्रो उद्देश्य हो । ठुला ठुला परियोजना भन्दा यस्ता स–साना योजना तथा कार्यक्रमहरु प्रभावकारी भएका छन्”–उनी भन्छन् ।

कृषकहरुको समूह सहकारी फर्म मार्फत सिचाई सहित कृषि विकास कार्यक्रम रामपुर नगरको तल्लो वडेमान कृषक समूहमा समेत प्रभावकारी भएको छ । वर्षमा २ वाली खेति गरेका कृषकहरुले समेत पक्की कुलो नहुँदा पानी लगाउन हैरानी खेप्नु परेको स्थानीय कृषक शारदा क्षेत्री बताउँछिन । टाढाबाट पानी ल्याउनु पर्ने दिनभर डोकोमा माटो बोकेर चुहिएको ठाउँमा टाल्नु पर्ने राति फेरी उस्तै हुने समस्या थियो । ५ किलो मिटर टाढाबाट कुलो ल्याउनु पर्ने निकै सास्ती र हैरानी थियो । यस वर्ष आधा भन्दा धेरै कुलो पक्की भयो विगतमा जस्तो सास्ती र हैरानी खेप्नु परेन । यसवर्ष व्यवस्थित कुलो बढेकाले आउने वर्ष देखि धान लगाउने कृषकको संख्या बढ्नेछ । वर्षे धान लगाउने कृषकको संख्या पहिलाको तुलनामा घट्दै छ । जसोतसो गरेर भएपनि यहाँका कृषकहरुले वर्षे धान लगाउन निरन्तता दिएका कारण कृषि ज्ञान केन्द्रले समेत प्राविधिक सहित अन्य सहयोग गर्दै आएको छ । आउने वर्ष थप निरन्तता हुने स्थानीय कृषकहरु बताउँछन् ।

जिल्लामै पहिलो पटक पुष्प खेति गरेका रामपुरका दिल बहादुर थापा पानी तान्ने र पुष्प खेति सहित मौसमी तथा बेमौसमी तरकारी खेति सिचाईका लागि मोटरका लागि सजिलो भएको बताउँछन् । सिचाईको सहयोगको कार्यक्रमले आफुलाई थप हौसला बढेको उनी बताउँछन् ।

तानसेन नगरको तिन्टीआपका श्याम बहादुर बौडेल जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेति गर्ने कृषक हुन् । उनका लागि कृषि ज्ञान केन्द्रले पलाष्टिक पोखरी निर्माणका लागि सहयोग गर्दा आफुलाई थप हौसला प्राप्त भएको बताउँछन् । यस्ता कार्यक्रम साना कृषकहरुका लागि निकै प्रभावकारी भएको उनी आफ्नो अनुभव सुनाउँछन् । कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी भन्छन्, “यो कार्यक्रमबाट पक्की कुलो सिमेन्ट पोखरी, पलाष्टिक पोखरी, थोपा सिचाई जस्ता कार्यक्रम भएका छन् । यसका लागि ३० लाख रुपैयाँ बाट २१ वटा योजना सम्पन्न भएका छन् ।