Butwal Today

राप्ती नदी फसेका एक बेपत्ता, दुइजनाको सकुशल उद्धार

२२ असार २०८१, शनिबार
अ+
अ-

दाङ, २२ असार ।

लमही नगरपालिका–७ हस्नापुर स्थित राप्ती नदीको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । यादवको खोजी कार्य जारी राखिएको छ ।