Butwal Today

अभिभावकलाई आर्थिक भार पर्ने कार्यक्रम नगर्न विद्यालयलाई आग्रह

२२ असार २०८१, शनिबार
अ+
अ-
बुटवल, २२ असार ।
अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाईका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ ।
विद्यालयहरुले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम र कक्षा १२ को विदाई कार्यक्रमका नाममा अभिभावकहरुबाट विद्यार्थी मार्फत मोटो रकम उठाई तडक भडकका साथ पार्टी प्यालेस, स्तरीय होटलमा लगि राष्ट्रिय स्तरका कलाकार बोलाई गर्ने गरेको कार्यक्रमप्रति अभिभावक संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष लोक नाथ ज्ञवालीले बताए ।
यस्ता गतिविधि सम्बन्धमा अभिभावकहरुबाट बारम्बार अभिभावक संघमा गुनासो आएकोले तत् सम्बन्धमा संघले गम्भीर हुँदै ध्यानाकर्षण भएको जनाएको छ ।
संघले शैक्षिक सत्र २०८१।८२ देखि शिक्षा क्षेत्रमा यस्ता अशोभनीय हुने कार्यक्रमहरु नगर्न, नगराउनु हुन सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।
साथै यस्ता कार्यक्रमहरु आ–आफ्नो विद्यालयको प्राङ्गण तथा कार्यक्रम हलमा आफ्नै विद्यार्थीहरुले कला प्रस्तुत गर्ने गरी गर्नुहुन समेत सम्बन्धित सरोकारवालाहरुलाई अपिल पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।