© 2026
बुटवल, २१ असार ।
संयुक्त राष्ट्रिय संघिय खाद्य तथा कृषि संगठन (एफ ए ओ),सघिय कृषि मन्त्रालयको आयोजना र राष्ट्रिय युवा परिषद्को संयुक्त समन्वयमा लुम्बिनी प्रदेशको रुपन्देही स्थित तिलोत्तमामा पहिलो युवा खाद्य प्रादेशिक सम्मेलन सम्पन्न भएको छ ।
युवाहरुलाई आत्मनिर्भर बनाउन कृषि र खाद्यका क्षेत्रमा युवाको पनि अनिवार्य भुमिका हुनुपर्ने र विशेषगरी कृषि खाद्य क्षेत्रलाई परिमार्जन गर्नका लागि र युवालाई उद्यममा जोड्नका लागि, लगानीको वातावरण बनाउनका लागि यस्तो सम्मेलन गरिएको (एफ ए ओ) नेपालका राष्ट्रिय विज्ञ सबिन लामिछानेले बताए । युवालाई माटो र उत्पादन सगँ प्रत्यक्ष जोडिन प्रोत्साहन गर्दै खाद्य कृषि प्रणालीको प्रबद्र्धनका लागि पनि युवाको महत्वपूर्ण भूमिका र सुझावहरु संकलन गर्ने र त्यसलाई राष्ट्रिय नीतिमा समाबेश गर्ने उद्धेश्यले लुम्बिनी प्रदेशबाट कार्यक्रम सुरु गरेको विज्ञ लामिछानेले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद शान्ति लोधले हरेक क्षेत्रमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए उनले युवाको क्षेत्रमा लगानी गरे मात्रै राष्ट्रले लाभ लिन सक्ने बताउँदै युवामा लगानी बढाउन सरकार लाग्नु पर्ने बताए । आफु पनि किसानकै छोरी भएको स्मरण गर्दै आफ्नै धेरै सङ्घर्ष र मेहनतले यहाँ सम्म आएको बताउदै अहिलेको अबस्थामा महिला र युवाले पनि अलि सङ्घर्ष सगै हस्तक्षेपकारी भुमिका बाट भए पनि आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन हरेक वर्ष इटालीमा विश्व खाद्य सम्मेलन गर्ने गर्दछ, जहाँ विश्वभरिका युवाहरुले आफ्नो उद्यमका कथा, नविनतम सोच, बिज्ञान र प्रविधिको मार्फतबाट खाद्य प्रणालीमा के ल्याउन सक्छ, त्यसको माध्यमबाट देशको अर्थतन्त्रलाई कसरी सपोर्ट हुन सकिन्छ भन्ने बारे छलफल र बहस चलेको थियो । कार्यक्रममा युवाहरुले युवा कार्य नीति, विज्ञान तथा प्रविधि, शिक्षा, संस्कृति तथा उद्यमशीलतामा युवाका भूमिकाका लागि भावी रणनीति समेत तयार पारेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सासंद शान्ति लोध, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पदाधिकारी, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरे, प्रादेशिक कृषि तथा भूमि व्यवस्थापन मन्त्रलय,सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल लगायत विभिन्न क्षेत्रका उद्यमीहरु र प्रदेशभरबाट २ सय युवाहरुको उपस्थिति रहेको थियो ।