© 2026
काठमाडौँ, १६ असार । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका हुन्।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राई लगायत उपस्थित भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि एकीकृत समाजवादीले निम्ता गरेको थियो। तर, उनी भने कार्यक्रममा पुगेका छैनन्।
ओलीको सचिवायका अनुसार, एकीकृत समाजवादीको कार्यक्रममा ओलीले अन्य नेताहरूलाई पुग्न आग्रह गरेका छन्।
एकीकृत समाजवादीको आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ।