Butwal Today

माछा मार्न गएका शिक्षकको मृत्यु, घाइते तीन जनालाई नेपालगञ्ज रिफर

९ असार २०८१, आइतबार
अ+
अ-

सुर्खेत, ९ असार । जाजरकोटमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका शिक्षकको मृत्यु भएको हो । माछा मार्न गएका अन्य छ जना घाइते भएका छन् । माछा मार्ने क्रममा एक्कासी खोलामा बाढी आउँदा शिक्षकको ज्यान गएको प्रहरीले जानकारी दिए ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको हो । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका थिए ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् । घाइतेको उद्धार पनि भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेमध्ये तीन जनालाई उपचारको लागि नेपालगञ्ज रिर्फर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।