Butwal Today

८ देशमा राजदूत सिफारिस : एमाले ५, जसपा २ र माओवादी केन्द्र १

८ असार २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

सरकारले ८ देशका राजदूत नियुक्तिका लागि  सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना छन्।

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका हुन् । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।

एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । माओवादी कोटाबाट डा विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् । त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नाम दिएको छैन। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टी (जसपा)बाट २ राजदूत सिफारिसमा परेका छन्।

जसमा डेनमार्कका लागि सुम्निमा तुलाधर र स्पेनका लागि पुष्पराज रन्जितकार छन्। रास्वपाका उपसभापति समेत रहेका श्रम रोजगार  तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो कोटाबाट राजदूत सिफारीस हुन बाँकी रहेको जानकारी दिए। सरकारले जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?