Butwal Today

फर्साटिकरलाई जिल्ला लिगको उपाधि

४ असार २०८१, मंगलवार
अ+
अ-

बुटवल, ४ असार । रुपन्देही जिल्ला फुटबल लिग २०८०/२०८१ को उपाधि फर्साटिकर चुमेको छ । मंगलबार भएको अन्तिम खेलमा सुनौलो संगम युवा क्लब संग बराबरी खेल्दै कुल २० अंक जोडेर उपाधि चुमेको हो । उपाधिसंगै फर्साटिकर नगद १ लाख ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । फर्साटिकरले आठ खेलमध्ये ६ खेलमा जित र २ खेल बराबरी खेल्न सफल भयो ।

सुनौलो संगम प्रतियोगितामा उपविजेता बन्यो । सुनौलो संगम आठ खेल मध्ये ६ मा जित र २ खेलमा बराबरी गर्दै १६ अंकसहित दोस्रो हुँदै नगद ५५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा सुनौलो संगमका प्रतीक क्षेत्री उत्कृष्ट गोलकिपर, अनुप थापा उत्कृष्ट डिफेन्डर, सिम्रिकका दर्शन बिक उत्कृष्ट मिडफिल्डर, फर्साटिकरका अवतार थापा हाई स्कोरर, फर्साटिकरका सुजन राना उत्कृष्ट कोच तथा अमृत मल्ल सर्वोत्कृत खेलाडीबाट पुरस्कृत भए । प्रतियोगितामा १५ अंक सहित गोल अन्तरले सिम्रिक युवा क्लब तेस्रो हुँदै नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । १५ अंक सहित गोर्खा ब्यायज चौथो हुँदै नगद २० हजार रुपैयाबाट पुरस्कृत भयो ।

एक समारोहका बिच अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, संघका अध्यक्ष लोक पुन, संघका उपाध्यक्ष मुकेश कुवर, कोषाध्यक्ष गोपिराम पुन, एन्फा एकेडेमी बुटवलका डाईरेक्टर बुद्धि गुरुङले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरेका छन । १९ दिनसम्म चलेको प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।