Butwal Today
धर्म संस्कृति :

कामाख्या मन्दिरमा किन बन्द गरिन्छ पूजाआजा चार दिनसम्म ?

२९ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

बुटवल,२९ जेठ । लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा रहेको प्रख्यात शक्तिपीठ कामाख्या देवी मन्दिरमा असार दोस्रो साताको चार दिन पुजाआजा बन्द गरिने भएको छ ।

प्रत्येक वर्ष असार महिनाको दोस्रो साता (जुन महिना अन्त्य) तिर चार दिनसम्म लाग्ने अम्बुबाची मेलाका कारण मन्दिरमा पूजापाठ बन्द गर्ने प्रचलन रहेको छ । सोही धार्मिक मान्यता अनुसार असार ७ गते सांझ बन्द हुने मन्दिरमा ११ गते सांझ विशेष पूजा गरेर पुनः मन्दिर खुल्ने मन्दिरका पुजारी सुरेश पौडेलले बताए ।

चौथो दिन मन्दिर विशेष पूजा तथा धार्मिक अनुष्ठानहरु गरिन्छ। त्यस दिनलाई महाशोभा पनि भनिन्छ र भक्तजनहरु पुनः मन्दिरमा प्रवेश गर्न पाउँछन्।

मन्दिरमा पूजाआजा बन्द हुने भएपनि केबलकार, रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ भने नियमित सञ्चालन हुने म्यानेजर प्रज्ज्वल घिमिरेलेजानकारी दिए ।

अम्बुबाची मेलाको समयमा मन्दिरको ढोका बन्द गरिन्छ र कुनै पनि पूजा, दर्शन, वा धार्मिक गतिविधि नगरिने प्रचलन रहेको पुजारी पौडेलले बताए ।
अम्बुबाची पर्व कामाख्या देवीको मासिक धर्मलाई प्रतीकात्मक रूपमा मनाइन्छ। हिन्दू धर्मशास्त्र अनुसार, यस अवधिमा कामाख्या देवी पृथ्वी माताको रूपमा शुद्धिकरण र पुनर्जीवनको चरणमा हुन्छिन् । पौराणिक कथाअनुसार, यस अवधिमा देवी कामाख्या रजस्वला मासिक धर्ममा रहन्छिन्।

यो मान्यता विशेषगरी मन्दिरको गर्भगृहमा रहेको योनिमण्डल (स्तम्भ) सँग सम्बन्धित छ। अम्बुबाची मेलाको समयमा, यो योनिमण्डलमा पवित्र जल प्रवाहित हुन्छ र यसलाई रातो रङको कपडाले ढाकिन्छ। यसले मासिक धर्मको प्रतीकको रूपमा रजस्वला भएको झल्को दिन्छ।

यो समयमा पवित्र जललाई रातो रङको कपडामा संचित गरिन्छ र भक्तजनहरूलाई प्रसादको रूपमा वितरण गरिन्छ। यसलाई देवीको पवित्र रजस्वला जल मानिन्छ।
धार्मिक मान्यतामा यो प्रक्रिया देवीको मासिक धर्मको प्रतीकात्मक रूपमा लिइन्छ। यसको वैज्ञानिक कारण भए तापनि धार्मिक र सांस्कृतिक दृष्टिकोणले यसलाई महत्वपूर्ण मान्यता दिइएको छ ।

आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेत लगानीमा एक वर्षअघि सञ्चालनमा आएको लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा रहेको कामाख्या मन्दिरमा दर्शन गर्न नेपालीसंगै भारतीयहरुको समेत उल्लेख्य संख्यामा आउने क्रम बढ्दो रहेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।
कामाख्या देवी मन्दिर दर्शन गर्नाले धार्मिक, आध्यात्मिक, र सांसारिक विभिन्न फलहरू प्राप्त हुने विश्वास छ। पण्डित तथा पुरोहित सुरेश शर्मा पौडेलका अनुसार निःसन्तानलाई सन्तान प्राप्ति हुने मान्यता छ। सन्तानको इच्छा राख्ने दम्पतीहरू यहाँ विशेष पूजा अर्चना गर्न आउँछन्।
यस्तै मन्दिरमा दर्शन र पूजा गर्नाले रोग र व्याधिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। यस्तै मुक्ति, मोक्ष, समृद्धि, रोग नाश र मनोकामना पूर्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?