Butwal Today

बाँकेको सामुदायिक पेपर उद्योगले थाल्यो उत्पादनको बजारीकरण

२७ जेष्ठ २०८१, आइतबार
अ+
अ-

नेपालगञ्ज, २७ जेठ ।

देशकै पहिलो समुदायमा आधारित एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडले उत्पादन गरेको पेपर बजारीकरण सुरु गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका २ महेन्द्रपुरस्थित स्थापना भएको कम्पनीले स्वदेशकै कच्चा पदार्थबाट पल्प बनाई करिब एक महिना अघिदेखि उत्पादन गरेको स्याक पेपर धमाधम बजारमा पठाउन सुरु गरेको हो ।

‘आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको’ भन्ने ध्येयका साथ झण्डै ५ सय करोड लगानीमा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेड स्थापनाको लक्ष्य राखेर स्थापना गरिएको एक्सिलेन्टले प्रारम्भिक उत्पादनका रुपमा ह्याण्डमेड स्याक पेपर उत्पादनको सफल परीक्षणपछि उत्पादन गरिएका पेपर अहिले धमाधम काठमाण्डौ पठाउन थालिएको कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले जानकारी दिए ।

पेपर आयातलाई प्रतिस्थापन गर्ने देशकै पहिलो पब्लिक उद्योग, प्रालिबाट एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडमा केहीदिन अघि मात्र विधिवत दर्ता भईसकेको पनि उनले बताए । ‘तत्काललाई २ टन प्रतिदिन उत्पादनको क्षमताका रुपमा जुट, कटन, फाइबर मिक्स पेपर उत्पादन सुरु गरेका हौं’, स्याक पेपरको माग धान्न गाह्रो रहेको बताउँदै २० टन उत्पादन दिने फोर्डिनियर डायर मेसिन जडान गरेर उत्पादन क्षमता बढाउँदै जाने योजना रहेको अध्यक्ष भण्डारीले सुनाए । पहिलो चरणमा परीक्षणका रुपमा उत्पादन गरिएका स्याक पेपर मोटो पातलो भएपनि अहिले एउटै आकारको स्तरीय पेपर उत्पादन भईरहेको उनले जानकारी दिए । ‘हामीले दुई महिनाको लागि मासिक करिब एक लाख पारिश्रमिक दिएर एकजना भारतीय प्रशिक्षकलाई राखोका छौं।’ उनले भने –‘ती प्रशिक्षकबाट कम्पनीमा काम गरिरहेको हाम्रा शेयरधनी तथा कामदारहरु पनि उत्साहित भएका छन् ।’

‘नेपालमै सामुदायिक उद्योगका रुपमा गरिएको सफल परीक्षणबाट हामी उत्साहित भएका छौं’, ५३ जना शेयरधनी जोडिएको एक्सिलेन्टमा आधा बढी शेयर धनी आफै प्रत्यक्ष रोजगारीमा जोडिएको जानकारी दिंदै कम्पनीका निर्देशक राजेन्द्र चौधरीले भने, ‘अप्रत्यक्ष रुपमा बाँकी शेयरधनी पनि रोजगारीमा जोडिंदै जानुहुनेछ ।’ उनका अनुसार, पहिलो चरणमा फालिएका पेपर, कपडा, जुटलगायतका रद्दी कच्चा पदार्थबाट ह्याण्डमेड स्याक पेपर उत्पादन थालिएको हो । ‘यसबाट कभर पेपर, फाइलबोर्ड, प्याकेजिङ्ग पेपर उत्पादन भैरहेको छ’, मेसिन सेटिङ्ग र सफल परीक्षणबाट उत्साहित अध्यक्ष भण्डारीले व्यवसायिक उत्पादनका लागि आवश्यक लगानीमा बैंकले धोका दिंदा तीन बर्ष ढिलो भएको गुनासो गर्दै भने, ‘हाम्रो योजना राप्ती सोनारी सेरोफेरोका १ हजार बढी स्थानीयलाई प्रत्यक्षसँग रोजगारीमा जोड्ने हो, तर बैंकिङ्ग क्षेत्रबाट भैरहेको असहयोगले तत्काल सानो स्केलमा सीमित जनशक्तिबाट कागज उत्पादनको सफल परीक्षण गरिरहेका छौं ।’

पाँच सय करोड बढी लगानीमा नेपालमै ठूलो कागज उद्योगको सपना साकार हुँदै गएको अध्यक्ष भण्डारीको बुझाइ छ । ‘हामीसँग भएको १६ विगाह ४ कठ्ठा जग्गामा आंशिक कामका लागि साढे ४ विगाह भित्र रिसाइकल प्लान्ट डेभलप गरिएको छ’, अध्यक्ष भण्डारी भन्छन्, ‘समुदायलाई जोड्दै रोजगारी र स्वामित्व विकास गर्नु हाम्रो योजना हो ।’

स्थानीय स्तरमा निकै राम्रो सहभागिता र सहयोग जुटिरहेको प्रतिक्रिया दिंदै भने, ‘नीति निर्माण तह, सरकार, बैंक तथा वित्तीय संस्थाले हाम्रो योजना र उद्देश्यप्रति संवेदनशील भैदिने हो भने नेपाली कागजको बजारमा बिस्तारै आत्मनिर्भर हुने तर्फ अगाडि बढ्न एक्सिलेन्टले जग खडा गर्न चाहिरहेको छ ।’

पाँच बर्ष अघि अध्ययन पूरा गरी जग्गामा लगानी गरेको एक्सिलेन्टले पछिल्ला तीनबर्ष लगानी जुटाउँदैमा खर्च गर्नुपरेको निर्देशक चौधरीको दुखेसो छ । ‘बैंकले पूर्व प्रतिबद्धताविपरित असहयोग गर्दा जनताको करोडौं लगानी अलपत्र अवस्थामा पुगेको थियो’, निर्देशक चौधरीले सामुदायिक स्तरमा संगठित गर्दै संकलित लगानीबाट पहिलो चरणको पेपर रिसाइकल प्लान्ट जडान गर्न सफल भएको सुनाउँदै भने, ‘हामीलाई विश्वास छ, सहयोगी हात र सरकारी निकायबाट यो योजना सफल बनाउन हामीलाई ऊर्जा प्रदान हुनेछ ।’

किसानले लगाउने बाँस, ऊखु, अम्रिसो घाँस, धान–गहुँका पराल–नलबाट कागजका लागि आवश्यक कच्चा पदार्थ पल्प तयारी कागज उत्पादन गरेर नेपाली बजारको कम्तिमा १५ प्रतिशत हिस्सा ओगट्ने योजनामा एक्सिलेन्ट पेपर कम्पनीको अवधारणाको नेतृत्व भण्डारीले गरेका छन् । ‘नेपालमै नयाँ र नौलो प्रविधिबाट फाइबर कटनमिक्स कागज उत्पादन सुरु गरेकाले बिस्तारै यसले लगानीकर्ताको मन जित्ने कुरामा हामी विश्वस्त छौं’, भण्डारीको भनाइ छ, ‘ यो उत्पादनलाई बजारमा पठाएर उपभोक्ताका मन जितेर माग पनि बढिरहेको छ ।’

एकातिर कागजमा भारत लगायत तेस्रो मुलुकका बजारको परनिर्भरता तोड्ने र अर्कोतिर फालिएका रद्दी कागज, कपडा, प्लाष्टिकको पुनःप्रयोग गरी फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने भएकाले एक्सिलेन्ट पेपर रिसाइकलका लागि तीन तहकै सरकारको सहयोगी भूमिका हुनुपर्ने सञ्चालकको अपेक्षा छ । भारत र चीनले पेपर निर्यात गरेपनि पल्प निर्यात नगर्ने भएकाले सामुदायिक उद्योगको अवधारणामा स्थापित उद्योगले आफै पल्प उत्पादन गर्दा रोजगारीको सृजना सँगै तेस्रो मुलुकबाट हुने पल्प आयात रोक्नमा ठूलो मद्दत पुग्ने अध्यक्ष भण्डारीको भनाई छ । हाल नेपालमा कोरिया, थाईल्याण्ड र इन्डोनेसियाबाट मात्र नेपालमा पल्प आयात हुने गरेको पेपर उद्योगीहरु बताउँछन् ।