Butwal Today

१४ वर्षको जागिरे जीवनले लेखबहादुरलाई बनायो करुवा उद्यमी

२६ जेष्ठ २०८१, शनिबार
अ+
अ-

पाल्पा, २६ जेठ ।

तानसेन नगरको बन्दीपोखराका लेख बहादुर विश्वकर्माको पुख्र्यौली पेशा फलामको काम गर्ने हो । गरिब परिवारमा जन्मिएका उनले फलामको काम गर्न भने पाएनन् । तर पनि उनले पश्चाताप मानेनन् ।

उमेरले दुई दशक पार गरेका लेख बहादुरले पढाइको रहर भने पूरा गर्न पाएनन् । शिक्षाको मुख नदेखेपनि उनी यतिबेला सफल उद्यमी बन्ने बाटोमा छन् । पहिले पहिले पाल्पाको पहिचान भनेको ढाका पछि करुवा थियो । करुवा बनाउने भनेको टक्सार टोलका बाणा समुदायले मात्र भन्ने थियो । अहिले आफुले काशबाट निर्मित तिनै पुराना उद्यमीलाई बिक्री गर्न पाउँदा कताकता मनमा खुसी लागेको अनुभव उनी सुनाउँछन् ।

गरिबीले नराम्रो संग च्यापेको कारण हातमा किताव लिएर स्कुल जाने समयमा आधा पेट खाएर टक्सारको करुवा उद्योगमा मजदुरका रुपमा जानु पर्ने बाध्यता नै थियो । मासिक रुपमा २ हजार रुपैयाँ पारिश्रमिक पाउँदा खुसी र हर्षको सिमा नै हुँदैनथ्यो । त्यही २ हजार रुपैयाँले घर खर्च चलाउन पर्ने बाध्यता भएको लेख बहादुर बताउँछन् । साहुको उद्योगमा १४ वर्ष सम्म काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । करुवाका लागि आवश्यक भनेको काश हो । त्यो काँश कहाँबाट कसरी ल्याउने, रातो माटो कहाँ खोज्ने, डाई कसरी बनाउने, उत्पादित वस्तु कहाँ कसरी, कतिमा बिक्री गर्ने जस्ता विषयमा मिहीन तरिकाले जान्ने अवसर जागिरको रुपमा मिलेको उनले आफ्नो विगत सुनाए ।

साहुको घरमा काम गरेको बखतमा ४ वर्ष अगाडि तानसेन नगरको ग्रामीण आर्थिक बिकास संघको व्यवस्थापनमा तालिमको अवसर आयो । तालिम पछिको समयमा उद्यमी बन्न चाहनेहरुका लागि बिना धितो १० लाख रुपैयाँ ऋण पाउने भनियो । “त्यही लोभमा तालिममा सहभागी भइयो । तालिम त औपचारिक मात्र थियो । हामी ४ जना कामदार मिलेर उद्योग खोल्ने सहमति भयो । बिना धितो कागजी प्रकृयाको ऋण अप्ठेरो भएका कारण बिनाधितो ऋण पाइएन । आफै उद्यमी बन्न लागेपछि साहु मसंग रिसाएर बोल्नै छाडे”–उनले भने । तानसेन नगरमा साक्षी बसेर बिनाधितो १० लाख ऋण पाउने सपना मात्र भयो । अन्त्यमा आफ्नै बारी नेपाल बैंकमा धितो राखेर १० लाख रुपैया झिकेर उद्योग गरेको केही समयमा उनका तीनजना साथीले हात झिके । ऋण उद्योग सबै आफ्नै टाउकामा आयो । “हिम्मत र आत्मबल भएकाले आज यो अवस्थामा आए । तानसेनको गैह्रागाउँमा घर भाडा लिएर उद्योग संचालन त गरियो महङ्गो घर भाडा, कच्चा पदार्थको बजारीकरण जस्ता समस्याले च्याप्दै गयो”–उनले सुनाए । एक वर्ष सम्म तानसेन बजारमा उद्योग संचालन गरेपछि अन्त्यमा आफ्नै घरमा उद्योग सारेको लेख बहादुर बताउँछन् ।

स्थानीय तहबाट कच्चा पदार्थको व्यवस्थापन गर्दै उत्पादित बस्तु झोलामा राखेर बजारमा बिक्री गर्दै बैंकको साबा ब्याज ऋण तिर्र्दै आएको लेख बहादुर बताउँछन्् । बजार मुल्यभन्दा १ हजार ५ सय कम मूल्यमा हप्तामा ४ वटा करुवा बेच्दै आएको उनले बताए । ठुलो परिमाणमा काम गर्न पर्याप्त मात्रमा रकम छैन । लगानी गर्न सकिए मात्र राम्रो कमाई संगै पहिचान पनि हुन्थ्यो । १ सय वर्ष लामो इतिहास बोकेको पाल्पाली करुवा टक्सार भन्दा बाहिरको व्यक्तिले करुवा उद्योग संचालन गरेका थिएनन् । समस्या त पुराना पुराना पुस्ताहरुले सिपको हस्तान्तरण गर्न नसक्दा टक्सार टोलमा करुवा बनाउने उद्योग अब ३ घर मात्र छन् । कुनै समय टक्सारको घर घर उद्योग थिए । पछिल्ला दिनहरुमा काम गर्ने कामदारहरुको अभाव देखाउँदै एक पछि अर्को गरी उद्योग बन्द हुँदै गएको अर्का एक उद्यमीले बताए ।

उद्योग बाणिज्य सघंका शैलेन्द्र भटराई भन्छन्, “यस्ता उद्योग भनेको जिल्लाको पहिचान बनाउने उद्योग हुन । कुटीर उद्योग भित्र पर्ने यस्ता उद्योगप्रति संघीय, प्रदेश सरकार अनभिज्ञ हँुदा उद्योग फस्टाउन नसकेको हो । स्थानीय सरकारको एकल प्रयासले मात्र हुँदो रहेनछ । करुवाको मूल्य बढ्दै गयो । बुटवल–पोखरामा मेसिनबाट कमसल खालको धातु प्रयोग भएका करुवाहरु बजारमा छ्याप छ्याप्ती पाइन लागेपनि ग्राहकहरुले हातले नै निर्माण गरेका करुवा रोजाईमा परेका छन् । उत्पादन गर्न सके मात्र हुँदो रहेछ तर ठुलो परिमाणमा उत्पादन गर्न रकमको आवश्यकता पर्देा रहेछ । सरकारले यस्ता उद्योगहरु संचालन गर्ने उद्यमीलाई सस्तो ब्याजमा ऋणको व्यवस्था गरी दिएको खण्डमा स्थानीय तहमै रोजगारी संगै आम्दानीको बलियो माध्यम बन्न सक्ने लेख बहादुर बताउँछन् ।