© 2026
बुटवल, १५ जेठ ।
न्युज बुटवल टुडे डटकमका सम्पादक लक्ष्मण पौडेल एक लाख रुपियाँ राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार आयोजित एक समारोहका बिच सम्पादक पौडेललाई प्रदान गरिएको हो ।
पौडेल दुई दशक भन्दा लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारितामा क्रियाशिल छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी संयोजक रहेको मूल्यांकन समितिले पौडेललाई पुरस्कृत गर्न सिफारिश गरे बमोजिम महासंघले उक्त पुरस्कार प्रदान गरेको हो ।

त्यस्तै बुटवल टुडे दैनिककै उपसम्पादक कृष्ण खनाल उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । बुटवल पब्लिक स्कुलले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो ।
श्यामलाल पोख्रेल संयोजक रहेको मूल्यांकन समितिको निर्णय बमोजिम पत्रकार खनाललाई पुरस्कृत गरिएको हो । त्यस्तै उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार अम्बिका दर्जी पुरस्कृत भएकी छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा बुटवल उपमहानगरपालिकाले नै स्थापना गरेको सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार पुरस्कृत भएका छन् । जनही ५० हजार राशीको उक्त पुरस्कारबाट खुल्लातर्फ रातोपाटी अनलाईनका तेजेन्द्र केसी र महिलातर्फ सेतोपाटीकी भगवती पाण्डे पुरस्कृत भएका छन् ।
पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकार र मिडियाको क्षेत्रमा उपमहानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उपमहानगरपालिकाले रुपन्देहीमै ठूलो धनराशीको पुरस्कार स्थापना गरी महासंघसँग सहकार्य गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यमा थप सहकार्य गर्ने बताए ।
उत्कृष्ट पुरस्कारु मूल्यांकन समितिका संयोजक शेरबहादुर केसीले पत्रकारलाई खोजमूलक समाचार र लेखनमा थप प्रतिवद्ध बनाउन यस्ता पुरस्कारले प्रेरणा प्रदान गर्ने बताए ।
कार्यक्रममा सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक खिमानन्द भट्टराई, वरिष्ठ पत्रकार एवं बाह्रखरीका प्रधानसम्पादक प्रतिक प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियारलगायतले आ–आफ्नो धारणा राखेका थिए ।