Butwal Today

संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता

१३ जेष्ठ २०८१, आइतबार
अ+
अ-

सल्यान, १२ जेठ । सल्यानी टप्पा तथा सिंगारु नाच प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मौलिक पहिचानको रूपमा रहेको सिंगारु र टप्पा नाच संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको हो । टप्पा नाच प्रतियोगितामा दार्मा गाउँपालिकाको समूह पहिलो भएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र बागचौर नगरपालिकाको समूह तेश्रो भएको आयोजक सामाजिक सेवा तथा सूचना केन्द्र, सल्यानका अध्यक्ष नोखिराम थापाले जानकारी दिए ।

यस्तै सिंगारु नाच प्रतियोगितामा बागचौर नगरपालिकाको समूह पहिलो, छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र दार्मा गाउँपालिकाको समूह तेश्रो भएको उनले जनाए । स्थानीय कला, हस्तकला, संस्कृति पहिचान, जगेर्ना तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत सामाजिक विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा प्रतियोगिता संचालन गरिएको हो । दुबै नृत्य प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रूपैयाँ र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । सो अवसरमा अन्य विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, निर्णायकहरू वीर बहादुर सेजवाल, शक्ति चन्द, भद्रसिंह बुढा लगायतले बोल्दै कला संस्कृती मेटियो भने आफ्नो तथा आफ्नो गाउँठाउँको सान, मान सबै हराउने भएकाले मौलिक लोककला संस्कृति संरक्षणमा सबै जागरुक बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सामाजिक सेवा तथा सुचना केन्द्रका सचिव चुडामणी पिएमले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?