Butwal Today

चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास

१० जेष्ठ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ।

यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ। बीबीसीका अनुसार चिनियाँ पिपुल्स लिबरेशन आर्मी पीएलएका प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिए। उनले आफ्नो जल तथा हवाई सेनाले संयुक्त रुपमा अभ्यास थालेको भन्दै यो अभ्यासले पृथकतावादीको चेत खुल्ने धम्कीसमेत दिए।

आज बिहान सुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपको चारैतर्फ जारी छ। किनमेन, मात्सु, उकिउ र डोङगियन द्वीप वरपरको आकाशमा कयौँ चिनियाँ लडाकु जहाजले फन्को मारेका छन्।

चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ। साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गरिरहेको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?