Butwal Today

सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने

१० जेष्ठ २०८१, बिहीबार
अ+
अ-

बुटवल, १० जेठ । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो ।

महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।

११ जेठमा माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने उनले बताए ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए ।

नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए ।

आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलनमा जानु परेको उनले बताए ।

हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको उनले बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए ।

सहकारी संस्थाहरूबाट अपचलन भएको २ खर्बभन्दा बढी रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ ठूला सहकारी संस्थाले अपचलन गरेको देखिन्छ । सबैभन्दा धेरै अपचलन हालका गृहमन्त्री रवि लामिछानेका पुर्व व्यवसायिक साझेदार जीबी राई समूहबाट भएको छ । राई लामो समयदेखि फरार छन् ।

Photo : File