Butwal Today

सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर

६ जेष्ठ २०८१, आइतबार
अ+
अ-

ठूला राजनीतिक दल र अनेक दाउपेचबाट सत्तामा हालीमुहाली गर्न सफल भएका साना राजनीतिक दलका मन्त्रीहरू कसैलेपनि मन्त्रीपद सम्हालेको महिना दिन भित्र आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरी आफ्नो सम्पत्ति सार्वजनिक नगरेको विषयलाई लिएर अहिले व्यापक जनसम्रदायमा तीव्र असन्तोष पैदा भएको छ । हरेक नेपालीमा उनीहरू प्रति आक्रोशको लहर व्याप्त छ । यो आक्रोशलाई शान्त पार्न नेताहरूले अविलम्ब आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्दछ । हिँजो सत्ता र शक्तिमा आफनो पहुँच नभएको बेला नेताहरूको कुन हैसियत थियो र आज शक्तिशाली पदमा रहेको बेला उनीहरूको औकात कसरी बढेको छ । त्यो सबै नजिकबाट नियालेका जनसमुदायले उनीहरूको अकुत सम्पत्तिको श्रोत जान्न चाहन्छन् र आफ्ना प्रतिनिधिहरूको दिन प्रतिदिन बढ्दो हैसियतको वारेमा जानकारी लिन चाहनु सार्वभौम जनताको अधिकार पनि हो । यस अर्थमा जनभावनालाई कदर गर्दै सबै पहुँचवाल र ओहदावालहरूले यो वा त्यो प्रकारको आनाकानी नगरी आफ्नो जायजेथाको यथार्थ विवरण प्रस्तुत गर्दा उनीहरूलाई नै राम्रो हुन्छ । राजनीति समाज सेवा हो । राजनीतिमा लाग्नेहरू निस्वार्थ भावले जनताको सेवामा खट्नु पर्दछ । राजनीतिको माध्यमबाट देश र जनताको हितमा काम गर्छु भन्नेहरूले आफ्नो व्यक्तिगत र परिवारिक स्वार्थलाई एकातिर पन्छाएर बहुजन हिताय वहुजन सुखाय के गर्दा राम्रो हुन्छ । तदनुरूप गर्नुपर्दछ । देश, समाज र जनताको सेवा गर्छु भन्ने सपथ ग्रहण गरेर पदमा आसीन भएका व्यक्तिहरू नै यदि स्वार्थपूर्ण, भ्रष्ट कृयाकलापमा लागेर राजनीतिलाई बिटुलो बनाउने दुष्कर्ममा लाग्छन् भने त्यो राजनीति भएन अराजनीति भयो । अराजनीति भनेको अराजकता हो । अराजकता भनेको भ्रष्ट क्रियाकलाप हो । रीति, थीति, नीति, नियम, पद्धति, सदाचार, नैतिकता, विवेक, मान, सम्मान, इज्जत, कर्तव्य, जिम्मेवारी सबै कुराप्रतिको बेवास्ता हो र मनपरि गर्ने छाडापन हो । हाम्रो देशको वर्तमान सिनारियोमा राजनीतिक वृत्तले यही विषाक्त प्रवृत्ति अँगालेको हँुदा आज देश यत्रतत्र सर्बत्र कहालीलाग्दो वातावरण मौलाइरहेको छ । राजनीतिरूपी पवित्र गंगामा अराजकताका ढलहरू मिसिएर गंगाजल नै अपवित्र वनिसकेको छ । त्यसो त भ्रष्ट आचरणप्रति अभ्यस्त भैसकेको तत्वहरूलाई सबै कुराहरू मामुली लाग्लान् । त्यसैले आफ्नो विवेकहीनता प्रति उनीहरूलाई कुनै मतलब छैन तर उनीहरूका स्वार्थपूर्ण षड्यन्त्रहरूले गर्दा देश संकटको खाडलमा र जनता गरिवी र अराजकताको खाडलमा जाकिने स्थितिले आज आम जनताको असन्तोष चरम सीमामा पुगेको छ । जनताको यो असन्तोषलाई बेलैमाथि सम्बोधन गरिएन भने त्यसैले आमविद्रोहको स्थिति ल्याई परिस्थिति झन जटिल बन्ने निश्चित छ । सत्ता एवं सुविधाहरूले भरिएको पदमा बस्नेहरूले जे गर्दछन् । त्यसलाई आम जनताले समर्थन गर्ने, उनीहरू ले जे सोच्दछन्, आम जनसाधारणको सोचाइं पनि उस्तै हुनुपर्ने, उनीहरूले जे जस्ता र रणनीति अपनाउँछन् त्यसमा कसैले बिमति राख्न नपाइने र विमति राखे प्रतिक्रियावादी, प्रतिगामी पुनरस्थानवादी, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता विरोधी के के हो के के लाञ्छना लगाएर मनपरितन्त्रको विरोधका स्वरहरूलाई दवाउने प्रयास गरेर आफू पानी माथिको ओभानो बन्न खोज्ने देखिन्छ । अब यस्तो चालाबाजीबाट देश हाँक्न सकिन्छ भनेर कसैले न सोंचे हुन्छ । तीन करोड जनसंख्यामा एक करोड जति युवायुवती बाहिर छन् । कोही डि.भि चिठ्ठा भरेर अमेरिका पलायन भएका छन् । कोही युरोप र अमेरिकामा उच्चशिक्षा हासिल गर्न गएकाहरू अध्ययन पूरा गरेपछि स्वदेश फर्किनु पर्नेमा देशमा कुनै भविष्य नदेखेर उतै काम खोजी ग्रीनकार्ड लिएर बसेका छन् । कोही रुसी सेनामा, कोही युक्रेनी सेनामा, कोही भारतीय सेनामा, कोही इजरायल, कोही अरब, कोही जापान, मलेसिया, अफ्रिका, ल्याटिन अमेरिका जताततै छरिएर जाँदैछन् ।

मौका मिलेसम्म नेपाल नफर्किने गरी उतै वसोवास गर्ने मेसो मिलाउदै छन् । यता आफ्ना नागरिकहरू धमाधम देश छाड्दै जाँदा खाली भएको देशमा धमाधम विदेशीहरूलाई भित्र्याउने काम भैरहेको छ । चाहे अंगीकृत नागरिकका रूपमा भित्र्याइएका भारतीयहरूका सन्तानलाई प्रदान गरिन थालेको वंसजको आधारमा दिइने नागरिकता होस् चाहे उत्तर प्रदेश, विहार र पश्चिम वंगालका सीमावर्ती क्षेत्रबाट नेपालका अस्पतालहरूमा सुत्केरी हुन आउने र पैसा तथा जन्मदर्ता प्रमाण लिई जाने तथा तिनैका सन्तानहरू १६ वर्ष पुगेपछि जन्मसिद्ध नागरिक हुने विधेयक वनाएर होस अथवा वर्मामा आतंक मच्चाएर वर्माबाट लखेटिएर भारत हुँदै नेपाल पसेका रोहिग्या शरणाथीहरूलाई अथवा तिब्बती शरणार्थी लगायत विश्वका विभिन्न देशबाट नेपाल रोजेर छिरेका शरणाथीहरूलाई धमाधम नागरिकता दिने कानून बनाएर उनीहरूलाई अंगीकृत नागरिक बनाउने जुन खेलवाड भेरहेको छ । त्यसको नराम्रो परिणाम देशले भोलि भोग्नुपर्ने अवस्थाको कल्पनाले पनि देशभक्त नेपालीको आड सिरिङ्ग हुुन्छ । सत्तासीनहरू किन यसरी बौलाएका छन् ? के सत्ता नै सबैथोक हो ? के सत्ता हत्याउनु र सत्ता टिकाउनु राजनीतिक दलहरूको एकमात्र लक्ष्य हो ? यस तथ्यलाई ध्यानमा राखेर राजनीतिलाई सेवा भावना र सत्कर्मको दृष्टान्त बनाएर काम गर्न हाम्रा नेताहरूलाई के ले रोकेको छ ? नेताहरू एकातिर देशमा सुशासन छाएको डंका पिट्दछन, अर्कोतिर भ्रष्टाचार, ढिलासुस्ती, धाँधली जस्ता विकृतिबाट कुनैपनि मन्त्रालय, विभाग र कार्यालयहरू चोखा छैनन् । प्रशासनिक यन्त्रका हरेक पक्षमा छाएको यो विसंगति नेता तथा मन्त्रीहरूका जुनसुकै खुबीलाई मिथ्या सावित गर्दछ । तसर्थ अब भएको वास्तविकतालाई लुकाइछिपाई गरी झुठो दाबी गरेर अहंकार देखाउने होइन । विनम्र भावले आ–आफ्नो गल्तीहरूलाई स्वीकार गरी आफू र आफ्नो मातहतका सबै प्रशासनिक यन्त्रलाई आम नागरिकले प्रष्ट बुझ्ने र देख्ने गरी सुधार गर्नको निम्ति अविलम्ब दरो अभियान प्रारम्भ गर्नु अत्यावश्यक भएको छ । यसको निम्ति उच्चपदस्थ नेता, मन्त्री र हाकिमहरूको सम्पत्ति सार्वजनिक गर्ने कामलाई प्रस्थानविन्दु बनाएर अगाडि पाइला चाल्नु जरुरी छ ।

समाज गतिशील छ, गतिशील समाजमा सबै कुराहरू गतिशील हुन्छन् । आम जनताको सोच्ने, तर्क बहस गर्ने र मनन गर्ने शैलीमा पनि नुतन र नबीनता झल्कने व्यवहार दृष्टिगोचर हुन्छ । यो स्वभाविकै हो र लोकतन्त्रलाई सार्थक बनाउने कडी पनि हो । लोकतन्त्रमा शासन जनमुखी हुन्छ र प्रशासन समय सुहाउँदो हुनुपर्छ । तर हामी कहाँ शासन नेतामुखी भयो र प्रशासन मध्ययुगीन सामन्ती प्रथाभन्दा फरक भएको अनुभूति जनताले गर्न पाएका छैनन् । त्यसैले सत्ता र शक्तिमा रहनेहरू छाडा साँढे बनेका हुन् । अब यी साँढेहरूलाई त्यसै घँसाएर राख्ने होइन । मेलामा नारेर उत्पादनमुखी र परिणाममुखी कार्यमा लगाउने बेला आएको छ । हलीले साँढे बहरलाई हलमा नारेर जसरी तह लगाउँछ, त्यसैगरी नेताहरूको छाडापनलाई नियन्त्रण गरी देशको प्रगति र विकासको गतिविधि अगाडि बढाउनु जरुरी छ । नेताहरूको अकुत सम्पत्ति सार्वजनिक गर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?