Butwal Today

संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास

५ जेष्ठ २०८१, शनिबार
अ+
अ-

काठमाण्डौ –

संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण बनेको अवस्थालाई सौहाद्र्धपूर्ण बनाउन पहल भइरहेको नेताहरुको भनाइ छ ।

सहमति नभइ संसद बैठक सञ्चालन गर्दा वातावरण बिग्रने भएकाले हिजोको संसद बैठक भोलिसम्म सारिएको छ । भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी विकल्पसहित सभामुखसहित सत्तापक्ष र प्रतिपक्षका नेताहरुसँग छलफल गर्दै छन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले संसदीय समिति बनाउनुपर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आएको छ । गृहमन्त्रीको नाम नजोडी सहकारी प्रकरणबारे छानबिन समिति बनाउन सत्तापक्षले पनि सहमति जनाएको छ । तर कांग्रेसले गृहमन्त्रीको नाम जोडेरै समिति गठन हुनुपर्ने अडान लिएको छ ।

नेताहरुकाअनुसार गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिने र संसदीय समिति बनाउनेगरी सहमतिको प्रयास भइरहेको छ । सहमति जुटाउन प्रधानमन्त्री र अरु नेताहरुले पहल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले पर्सि सोमवार संसदबाट विश्वासको मत लिने कार्यतालिका भएकाले आज कांग्रेससित निर्णायक वार्ता गर्न लागेका छन् ।

भोलि संसद्को बैठक बस्ने बेलासम्म सहमति नभए पर्सि सोमवार विश्वासको मत लिने कार्यतालिका प्रभावित हुन सक्ने भएकाले प्रधानमन्त्रीले आजै सहमति जुटाउनेगरी पहल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?