Butwal Today

त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ

३ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

नवलपुर, ३ जेठ ।

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र भन्सार नाकालाई तत्कालीन सरकारले क श्रेणीको भन्सार घोषणा गर्दै यसको विकासका पूर्वाधार निर्माण गरी नाका चाँडै बिस्तार गर्नै भनिए पनि अहिले सम्म यो नाका नाम मात्रको भन्सार कार्यालय भएको छ ।

गण्डकी प्रदेशको एक मात्र पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नती गरिएको पाँच बर्ष बित्यो । तर त्यो कागजमा मात्रै सीमित भयो । अझै पनि यहाँ कुुनै पूर्वाधार बन्न सकेको छैन । जसका कारण त्रिवेणी भन्सारको कुनै विकास हुुन नसक्दा गण्डकीको विकासमै वाधा पुुगेको विनयी त्रिबेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । पाँच वर्ष बित्दा पनि अझै मूल भन्सारका रुपमा स्तरोन्नती हुन नसक्दा यो भन्सारको गतिविधि प्रायः ठप्प अवस्थामा रहेको अध्यक्ष गिरीको भनाई छ ।

गत २०७६ फागुनमा नेपाल सरकार सर्थ मन्त्रालयले छोटी भन्सारका रूपमा रहेको त्रिवेणी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नती गर्ने निर्णय गरेको भए पनि सो भन्सारबाट कुुनै पनि वस्तुको नेपाल र भारततर्फ आयात र निर्यात हुन नसकेको त्रिवेणीका समाजसेवी आरपी उपाध्यायले बताए । “भारतीय सवारीलाई नेपाल प्रवेश गर्दा अनुमति दिने पुर्जीबाहेक यो भन्सारले अहिले सम्म कुनै पनि काम गर्न सकेको छैन”–भन्सारका कर्मचारीको भनाई छ ।

गण्डकी सरकारले पटकपटक यस नाकालाई पूर्णरूपमा सञ्चालन गर्ने र आयात–निर्यात पुनः सुरु गराउने निर्णय गराए पनि केन्द्र सरकारको सहयोग नहुँदा यो नाका संचालनमा आउनै नसकेको गण्डकी प्रदेशका साँसद महेन्द्रध्वज जिसीले बताए । यो नाका सञ्चालन नहुँदा यस क्षेत्रका उद्योगी व्यवसायी मर्कामा परेका मन्त्री जिसीले बताए ।

तीन वर्षदेखि त्रिवेणीपारि भारतको विहारमा वाल्मीकि नगर भन्सार कार्यालयलाई भारतले मूल भन्सार कार्यालयका रूपमा सञ्चालनमा ल्याएको भए पनि नेपालतर्फ पूर्वाधारको अभावमा भन्सार सञ्चालन हुन नसक्दा त्रिवेणी नाकाबाट आयात र निर्यात हुन नसकेको त्रिवेणी भन्सार कार्यालयले जनाएको छ ।

नेपाल सरकारले त्रिवेणी नाकालाई मूल भन्सार नाका बनाउने नीतिगत निर्णय गरेको पाँच वर्ष भइसक्दा पनि जग्गा अधिग्रहणको काम समेत हुन नसक्दा भन्सार कार्यालय सञ्चालनले गति लिन नसकेको हो । सो को लागि ५० बिगाहा जग्गा अधिग्रहण गरिने भए पनि काम हुन सकेको छैन ।

१२ जनाको दरबन्दी भएको त्रिवेणी भन्सार अहिले चार जना कर्मचारीले मात्रै सञ्चालन गर्दै आएका छन् । भन्सार सञ्चालनका लागि कार्यालय, कर्मचारी आवास, गोदाम, यात्रु शाखा, गाडी पार्किङ, तौलकाँटा राख्ने स्थान, सुरक्षा निकायको कार्यालय, बैंकलगायत संरचना निर्माणका लागि जग्गा आवश्यक पर्ने भए पनि जग्गाको व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन नसकिएको मूल भन्सार महेशपुर भन्सारले जनाएको छ  ।

स्थानीय व्यापारीहरुले पटक पटक त्रिवेणी भन्सारलाई मूुल भन्सार बनाउन पहल थालेसँगै नाम मात्रको मूल भन्सारका रुपमा रहेको र यो भन्सारले अझै कुनै काम गर्न नपाएकोले तत्काल यसलाई संचालनमा ल्याउन सरकार जिम्मेवार हुनुपर्ने संघीय सासंद बिष्णुकुमार कार्कीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?