© 2026
बुटवल,२ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित आनन्दवन स्वास्थ्य चौकीमा महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ शिविर सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको यो कार्यक्रम पहिलोपटक वडा नंं ६ मा गरिएको वडाध्यक्ष गणेश पाठकले बताए । महिलाको स्वास्थ्य अवस्थाका बारेमा प्रारम्भिक जानकारी राख्न तथा क्यान्सर रोगबाट बचाउन यस्तो शिविरको आयोजना गरिएको पाठकले बताए।
कार्यक्रममा ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा स्क्रिनिङ गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताए। ४० वर्षमाथिका महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहन्छ। सो स्वास्थ्य चौकीबाट शुरु गरिएको क्याम्प तिलोत्तमाका मुख्य ६ वटा स्वास्थ्य संस्थामा संचालन हुने पौडेलले बताए।
कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताइन्।
नगरपालिकाले सधैको बर्षजस्तै निःशुल्क शिविरको स्वास्थ्य चौकीमा पहिलो दिन स्क्रिनिङ गरिएका १ सय ३५ जना मध्ये ६ जनालाई भीआईए पोजिटिभ, १ जनालाई युटेरस प्रोल्याप्स, १ जनालाई सीए र १४ जनालाई पीआइडि र अन्य १० जनालाई सामान्य लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज राम प्रसाद चुंदालीले बताए। लक्षण देखिएका बिरामीहरुलाई परामर्श सहित औषधी समेत बितरण गरिएको थियो। कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा बर्षा पौडेल, स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक केशव भट्टराई,लक्ष्मी घिमिरे सहितको टिमले महिलाहरुको स्वास्थ्य चेकजांच तथा उपचार र औषधी बितरण गरेको थियो।
सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दिनमा चार जनाको मृत्यु हुने गरेको छ। महिलामा असुरक्षित यौनसम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा बर्षा पौडेलले बताइन् ।