Butwal Today

वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

२८ बैशाख २०८१, शुक्रबार
अ+
अ-

बुटवल, २८ वैशाख ।

विशेष अदालतले ‘कुख्यात वन्यजन्तु तस्कर’ कुञ्जोक छिरिङ तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर गर्दै थप १ वर्ष ६ महिना (डेढ वर्ष) कैद सजाय सुनाएको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार कुञ्जोकलाई ६७ लाख ६५ हजार बिगो र त्यति नै रुपैयाँ जरिवाना तोकेको हो ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वन्यजन्तुको अंग (आखेटोपहार)को तस्करी गरी सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई १६ वैशाखमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले ६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका कुञ्जोकले ७ करोड १४ लाख रुपैयाँ कमाएको देखिएको भन्दै ६७ लाख ६५ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो ।

हुम्लाका कुञ्जोक अन्तर्राष्ट्रिय गिरोहलाई आखेटोपहार बेचेको आरोपमा कारागारमै छन् । वैशाख २०७८ मा उनलाई जिल्ला अदालत रसुवाले पनि ७ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।