Butwal Today

सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

२५ बैशाख २०८१, मंगलवार
अ+
अ-
पाल्पा ।
रिब्दिकोट गाउँपालिकाको ख्याहाका ढाल बहादुर नेपाली सन्तान भएर पनि यतिबेला सहारा विहीन हुन पुगेका छन् । उमेरका हिसाबले सात दशक पूरा गरे पनि  उनी यतिबेला सहारा विहीन नै भएका हुन् । भनिन्छ सन्तान भनेको बुढेसकालको सहारा हो । तर उनलाई यो भनाई दन्त्य कथा जस्तै भएको छ । डाँडाका अस्ताउन लागेका घाम जस्तै भएका ढाल बहादुर न त यतिखेर आँखाले नै देख्छन्, न त कानले नै सुन्छन् । दु.ंख सुख साटासाट गर्ने भनेर विवाह गरेकी श्रीमतीलाई पनि  गुमाउनु परेपछि दु.खका दिनहरु सुरु भएका बताउने ढाल बहादुर रिब्दिकोट गाउँपालिका ख्याहाको लफ्सी खोलाका हुन । ७० वर्षीय ढाल बहादुरलाई दैवले त विभेद गरेको थियो नै समाजले समेत कहिल्यै नबिर्सने गरी पाप गरेको छ ।
संघीय संसदको सचिवालयमा कार्यरत सचिवको गाउँ हो यो । यो समस्याबारे उनी केही दिन अगाडि पाल्पाको तानसेन सदरमुकाम आएको बेलामा सुनेका र बुझेका थिए तर दलित भएका कारण नै सामाजिक रुपमा अन्याय सहन परेको केही स्थानीयहरुको बुझाई छ ।
दुई छोरा र दुई छोरीका बाबु ढाल बहादुर समाजले गरेको जातिय भेदभावको यो भन्दा अरु नमूना छैन । दुई छोरीले विद्यालयकको औपचारिक शिक्षा गरेर घरजम गरिसके । “छोराले पनि विद्यालयको प्राथमिक तहको  शिक्षा त पूरा गरेका हुन् तर के गर्ने छुवाछुत र जातिय विभेदले च्यापिएका हामीहरु छोराको शिक्षा औपचारिकतामा मात्र सिमीत हुन पुग्यो”–उनी भन्छन् । गत चैतको दोस्रो सातामा यहाँ एउटा अप्रिय घटना घट्यो । कक्षा १२ मा अध्यनरत एक किशोरीको धारिलो हतियारको प्रयोगबाट हत्या भयो । हत्याको अभियोगमा ढाल बहादुरका जेठा छोरालाई प्रहरीले पक्राउ ग¥यो । कतै दाजुु संगै भाइको पनि साथ सहयोग त छैन भन्दै प्रहरीले भाइलाई समेत पक्राउ ग¥यो । प्रहरीले गरेको शँका मात्र थियो । प्रहरीले शंका गरेका भाइ राजु सार्की कुनै कसुर नभेटिएपछि स्थानीय सरकारको प्रतिनिधिको रोहवरमा घर पठाउने प्रहरीले निर्णय ग¥यो । तर स्थानीय सरकारका प्रतिनिधिलाई नै राजुलाई घर ल्याएमा परिणाम र परिणती राम्रो नहुने भन्दै स्थानीयले दवाव दिएका कारण अवोध १४ वर्षीय बालकलाई घर सम्म पुर्याउन सकिएन ।
दलित वर्गको उत्थानको  लागि भन्दै धेरै संघ सस्थाहरु जिल्लामा स्थापना भई डलर कुम्ल्याउने काम भएको छ तर ढाल बहादुरको परिवारमा परेको बज्रपातमा कुनै पनि निकाय र राजनैतिक दलका नेताहरु सबै मौन बस्नुले थप लज्जाबोध बनाएको पिडकका आफन्तहरु बताउँछन् । ज्यान मार्ने कैदीले कारागारमा सजाय भोग्दै छ । १४ वर्षिय राजु र ७० वर्षिय ढाल बहादुर सार्की निर्दोष छन् । “कानुन कार्यान्वयन गर्ने सचिवको गाउँमा एउटाको दोष अर्कोलाई किन सजाय गरिदैछ”– उनले भने । सामन्तवादी सोच र चिन्तन हावी भएका कारण नै यतिखेर १४ वर्षिय राजु गुल्मीमा आफन्तको शरण लिन पुगेका छन् ।
स्थानीय सरकारको समन्वयमा सामाजिक विकास डिभिजनले गाउँ, विद्यालयमा सचेतनाको कार्यक्रम गर्यो । तर राजु अझ घर सम्म फर्किने वातावरण बन्न नसकेको स्थानीय सरकारका प्रतिनिधी चिरन्जिवी पोखरेल बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठ  भन्छन् “कानुनी विभेद गर्नेलाई कारबाहीको दायरामा ल्याउन सक्ने पशस्त आधारहरु भए पनि यसलाई प्रयोग नगरिएको मात्र हो ।” सामाजिक सदभाव, मेलमिलाप कायमै राखौं भनेर मात्रै कानुन कार्यान्वयन नगरिएको उनले बताए ।
“सामाजिक बहिष्कारमा परेका १४ वर्षिय राजु ठिमुरे गाउँबाट गुल्मी पुगेका छन् । घरमा आँखा नदेख्ने बाबु जस्ता कुराले राजुको मन पोलेको छ  तर घर जान समाजले छेक्यो”– राजुका एक आफन्तले गुनासो पोखे ।
(सामाजिक र व्यक्तिगत जीवनमा असर पर्ने भएकाल १४ वर्षीय बालकको नाम परिवर्तन गरिएको छ ।)