Butwal Today

नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई

२५ बैशाख २०८१, मंगलवार
अ+
अ-

काठमाडौं,२५ बैशाख ।    पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय भारतसंग विवाद चर्काउने कुरा भएको बताएका छन् । काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा समाधान गर्न आवश्यक रहेको बताए।

उनले ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवाद हल गरेर जान सकिने तर्क गरे। अंश अंश गरेर सीमा विवाद हल हुँदैन भन्दै उनले नोटमा चुच्चे नक्सा राख्ने कुराले अनावश्यक ढंगको बहस र विवाद चर्काउने बताए । यसको हल भनेको ईपीजी वा नयाँ किसिमको अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढंगले नै हल गर्नुपर्ने भट्टराईको तर्क छ ।
सीमा समस्या कि त युद्ध लडेर कि कुटनीतिक तरिकाबाट हल हुने भन्दै उनले तीतो पोखेर मात्रै समाधान नहुने धारणा राखे। भट्टराईले खुला सिमानाका कारण नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागिरहेको बताए। भारतसँगको खुला सिमानाले गर्दा हाम्रो अर्थतन्त्रको आधा हिस्सा चुहिएर गएको र उद्योगधन्दाको विकासमा असर परेको उनले भने ।