Butwal Today

बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय

२४ बैशाख २०८१, सोमबार
अ+
अ-

बुटवल, २४ वैशाख ।

लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री दिनेश पन्थीले पाएका छन् । यसअघि विभागीय मन्त्री नियुक्ती नहुँदासम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री दिपेन्द्र पुनलाई दिइएको थियो ।

यसैगरी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ। प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउनेगरी सरकारले भाडामा लिएको थियो ।

बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास भने यथावत थियो। आइबातबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

त्यस्तै, प्रदेश सरकारले विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति गठन गरेको छ ।