Butwal Today

विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल

२२ बैशाख २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपका लागि आफूहरूको तयारी राम्रो भएको बताएका छन्। शुक्रबार साँझ होटल सोल्टीमा क्यानले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले नयाँ खेलाडीलाई उत्साहित बनाउँदै अघि बढ्ने पनि बताए।

‘लेजेन्ड दाइहरूले गर्नुभयो, अब हाम्रो पालो हो,’ रोहितले संक्षिप्त प्रतिक्रियाका क्रममा भने, ‘नयाँ प्लेयरलाई इन्स्पायर गर्नेछौँ।’

टी–२० विश्वकप खेल्न भोलि (शनिबार) नेपाली राष्ट्रिय टोली अमेरिका प्रस्थान गर्दै छ। सोही टोलीलाई शुक्रबार क्यानले बिदाइ कार्यक्रम आयोजना गरेको थियो।

सो कार्यक्रममा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पनि पुगेका थिए।

१० वर्षपछि नेपालले विश्वकप खेल्न लागेको हो।

वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपअन्तर्गत ९ स्थानमा ५५ खेल हुनेछन्। कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन्। सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ।