Butwal Today

देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी

१८ बैशाख २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १८ वैशाख ।

पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।

खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।

गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । मंगबार भैरहवाको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि वैशाख ९ गते भैरहवाको तापक्रम सबैभन्दा धेरै ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यसैगरी मंगलबार जनकुपुरको ४१.५, नेपालगन्जको ४०.८, धनगढीको ४०.७ र सिमराको ४०.५ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

मौसमविद गंगा नगरकोटीले देशभर नै तापक्रम बढ्दै गएको र तत्काल कम हुने सम्भावना नरहेको बताइन् । उनका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना पनि छैन । तर थोरै स्थानहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी भने पर्ने गरेको छ ।

‘पश्चिमी वायुले बादल त ल्याएको छ तर त्यसमा पानीको मात्रा खासै छैन,’ मौसमविद गंगा नगरकोटीले भनिन्, ‘स्थानीय वायुको प्रभावले थोरै स्थानमामात्र मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने गरेको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना देखिँदैन ।’