Butwal Today

इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना

१५ बैशाख २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

इलाम क्षेत्र नम्बर २ मा ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको छ। जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्।

इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन्। शनिबार सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको यादवले बताए।

इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना सुरु हुने आयोगले बताएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आजै राति ११ बजेसम्म मतगणना सुरु हुनेछ।

बझाङ क्षेत्र नम्बर १ प्रदेशसभा (१)मा भने भोलि (आइतबार) बिहान १० बजेबाट मात्रै मतगणना सुरु हुने जानकारी गराए।  उनले मतगणना सुरु भएको १२ घन्टाभित्र अन्तिम मतपरिणाम निकाल्नेगरी काम गर्न निर्देशन गरिएको पनि बताए।