Butwal Today

सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन

१२ बैशाख २०८१, बुधबार
अ+
अ-

सल्यान, ११ बैशाख । यस वर्ष सल्यानमा गत वर्षभन्दा ११ प्रतिशतले सुन्तला कम उत्पादन भएको छ । जलवायु परिवर्तन, सुन्तलामा रोगकिराको प्रकोपजस्ता कारण गत वर्षभन्दा यस वर्ष उत्पादनमा कमी आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । गर्त वर्ष ३३ करोड ७० लाख रुपैयाँ बराबरको सुन्तला जिल्ला बाहिर निकासी भएकोमा यस वर्ष २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबरको मात्र सुन्तला निकासी भएको कार्यालयका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए । यस आर्थिक वर्षमा जिल्लामा ३८ हजार ६५३ क्विन्टल सुन्तला निकासी भएको उनको भनाई छ ।

यस वर्ष किसानले प्रतिकिलो ५५ देखि ११० रुपैयाँ सम्म सुन्तला बिक्री गरेका छन् । बागचौर नगरपालिकाका सुन्तला बगैँचामा केही रोगकिराको संक्रमण हुँदा उत्पादन घटे पनि अन्य पालिकामा भने उत्पादनमा वृद्धि आएको उनको भनाइ छ । जिल्लामा एक हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ । यस वर्ष सबैभन्दा धेरै बागचौर नगरपालिकाबाट १८ हजार दुई सय ९५ क्विन्टल सुन्तला निकासीबाट १५ करोड २० लाख ३० हजार रुपैयाँ भित्रिएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकामा आठ करोड ६५ लाख ९९ हजार तथा त्रिवेणी गाउँपालिकामा किसानले ५२ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

सिद्धकुमाख गाउँपालिकाबाट एक करोड ८० लाख १५ हजार, कुमाख गाउँपालिकाबाट ८२ लाख ५० हजार, शारदा नगरपालिकाबाट एक करोड १९ लााख २५ हजार, बनगाड कुपिण्डे नगरपालिकाबाट ५९ लाख ३७ हजार र कपुरकोट गाउँपालिकाबाट ४२ लाख ४८ हजार रुपैयाँको सुन्तला जिल्लाबाट बाहिरिएको पनि कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । सल्यानका १० स्थानीय तहमध्ये कालीमाटी गाउँपालिका बाहेक अन्य नौ तहमा व्यावसायिक सुन्तला उत्पादन हुँदै आएको छ ।