Butwal Today

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर

१२ बैशाख २०८१, बुधबार
अ+
अ-

काठमाडौं,१२ बैशाख । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए ।

सम्झौता तथा सहमतिका आठ बुँदा यस्ता छन्:

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी

२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

३. नेपाल सरकार तथा कतार सरकारका बिचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी
४. नेपाल सरकार तथा कतार सरकारका बिचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी

६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बिचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बिचमा समझदारी पत्रको नवीकरण