Butwal Today

उखु महोत्सवः किसान उत्साहित

९ बैशाख २०८१, आइतबार
अ+
अ-

गुल्मी, ९ वैशाख । गुल्मीको छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसानहरू उत्साहित बनेका छन । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नं ४ अन्र्तगत दिगामा एक दिने उखु महोत्सवको आयोजना गरेको छ ।

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा पराम्परागत शैलीमा गोरुको प्रयोगगरि उखु पेल्ने, खुदो र गुँड बनाउने कार्यका अतिरिक्त उखुको रसवाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको थियो । महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवं पुरानो जातका उखुहरू प्रदर्शन गरिएको थियो । गाउँपालिकाको वडा नम्बर ४ स्थित दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महव र त्यसको उपयोगिताको बारेमा विभिन्न गीत र साँस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।

उखु महोत्सवमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोट गाउँपालिका कृषि क्षेत्रमा नयाँ नौलो कार्यक्रम गर्ने पालिका रहेको भन्दै उनले छत्रकोटले उखु खेतीको माध्यमबाट आर्थिक उपार्जन गरि समुन्नति हासिल गर्न सक्ने बताए ।
महोत्सवमा छत्रकोट गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवद्र्धन र विकाससँगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवले किसानहरूमा आफ्ना उत्पादन बिक्री गर्न र त्यसको प्रचारप्रसार गर्न थप मद्दत पुगेको बताएका छन ।

कार्यक्रममा उखु महोत्सवका संयोजक एवं व्यावसायिक उखु कृषक रामकृष्ण न्यौपानेले गाउँमा आयोजना गरिने यस्ता प्रकारका मेला महोत्सवहरूले किसानहरूलाई पनि थप उत्प्रेरणा जगाउने काम गरेको बताए । यसबाट उखु किसानहरू थप उत्साहित बनेको भन्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन आग्रह गरेका छन ।

महोत्सवमा गाउँपालिका उपाध्यक्ष साबित्र ज्ञवाली, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, प्रमुख प्रसासकिय अधिकृत विरबहादुर पुन लगायतका व्यक्तिहरूले महोत्सवले उखु किसानलाई थप हौसला बढाएको बताए । छत्रकोट गाउँपालिकामा मात्र तीन सय किसान व्यावसायिक उखु खेतीमा लागेका छन ।

जिल्लाको खेती योग्य जमिन मध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यवसायिक रूपमा उखु खेति गरिएको छ । यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड ) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन । जिल्लामा यस पटक पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको छ ।