Butwal Today

इस्मामा ‘घाँस पाल्दै’ गोकर्ण

रोजगारीको लागि विदेशी भूमिमा पसिना बगाएका गोकर्णले खेर गएको भूमिलाई अमूल्य भूमिको रूपमा परिणत मात्रै गरेका छैनन, गाउँमा नै बसेर बर्षमा लाखांैको घाँस बिक्री गरिरहेका छन् ।
९ बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल, ९ बैशाख । घाँसको खेती ? यो त आफै उम्रिन्छ । यसको पनि खेती गर्नुप¥र्छ ? भन्ने जो कोहीको पनि प्रश्न यस्तै रहन्छ । तर गुल्मी जिल्लाको ईस्मा गाउँपालिका वडा नम्बर–३ दर्लामचौर गहतेका २५ वर्षीय गोकर्ण नेपालीले त्यहि घाँसको व्यवसायिक खेती गरिरहेका छन् । घाँस खेतीबाट उनले आम्दानी मात्रै गरेका छैनन्, नाम समेत कमाएका छन् ।

रोजगारीको लागि विदेशी भूमिमा पसिना बगाएका नेपालीले आफ्नै गाउँको खेर गएको भूमिलाई अहिले अमूल्य भूमिकोरूपमा परिणत गरेका छन् । उनको घाँस खेतीको लागि जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय पालिका लगायतले सहयोग समेत गर्दै आएका छन् ।

युवा उमेरका नेपाली अहिले २५ बर्षमा लागेका छन् । उनले ४ बर्ष देखि आफ्नै पाखो बारीमा ४ बर्षदेखि ‘ग्यालेक्सी कृषि फार्म’ संचालन गरेका छन् । गाउँका अर्गेला खेत र बारी गरेर १ सय २० रोपनीमा १ सय २० प्रकारको घाँसको खेती गरेका छन् । जसमा ८१ जातका घाँस उनले बिक्री प्रयोजनको लागि उत्पादन गर्दै आएका छन् भने कतिपय शो पीसको रूपमा समेत उत्पादन गर्दै आएका हुन ।
गोकर्णले गत बर्ष मात्रै ४० लाख बढिको घाँसका बिरुवा बिक्री गरेर बिक्री गरेका थिए । गोकर्ण नेपाली सानै उमेरदेखि कृषिकर्ममा विश्वास गर्थे । एसइईपछि ०७४ मा कृषि विज्ञान अध्ययनका लागि चितवन पुगे । केही महिना अध्ययन पनि गरे । तर, आर्थिक अभावले पूरै पढ्न नसकेको बताउँछन् ।

कृषि मा आईएस्सी एजी पुरा गरेका उनले आफुले पढेको कुरालाई व्यवहारमा लागू गर्नको लागि पनि प्रयास जारी राखेको बताउँदै आएका छन् । खासगरी विज्ञान विषय पढेकाहरूले कृषि क्षेत्रमा काम गरेको विरलै पाईन्छ । त्यो मध्येका उनी एक उदाहरणीय पात्र हुन ।
कार्तिक ०७५ मा युएईकोमा उनी रोजगारीको लागि गएका थिए । ३ महिना पछि उनले युएईमा त्यसको केही समयपछि उनले महिनाको ६० हजार कमाइ हुने गरी राम्रो जागिर पाएका थिए । तर, कोभिड सुरु भएपछि काम बन्द भयो । उनले झन्डै तीन लाखजति जोगाएका थिए । त्यही पैसा बोकेर नेपाल फर्किएका थिए । गोकर्ण परदेशबाट फर्किँदा घरमा बुबा क्यान्सरले थलिएका थिए । उनले परदेशमा कमाएको सबै धन उपचारमा सके पनि बुबालाई बचाउन सकेनन । आइसियूको पैसा तिर्न नसकेर अस्पतालले शव दिएन । आमाको गणेशमाला बेचेर शव घर ल्याएर अन्त्येष्टि गरे । घरमा शव ल्याउने एम्बुलेन्सलाई दिने पैसासमेत गोकर्णसँग थिएन । ऋण बोकेको काँध फेर्ने विकल्प थिएन परिवारमा । कोभिडले परदेश पस्ने अवस्था पनि थिएन । उनले गाउँमै उद्यमको बाटो खोजेको बताउँछन् ।
मोटरसाइकल बेचेर घाँसको बिरुवा ल्याए । गाउँमा पानी थिएन । टाढाबाट बोकेको पानीले बिरुवा हुर्काउनुपर्ने बाध्यताका बीच काम गर्न थाले । गोकर्णले आफ्नो ८० रोपनी र छिमेकीको एक सय २० रोपनी लिजमा लिएर घाँसका १ सय २० प्रकारका घाँस रोपेका छन् । त्यसमध्ये ११ प्रकारका घाँस जिल्लामा आफूले मात्रै व्यावसायिक खेती गरेको उनी बताउँछन् । बिउ, बेर्ना र घाँस उत्पादन गर्छन् । घाँसको प्रतिबिरुवा ५ देखि ५० रूपैयाँसम्म पर्छ । उनले गत वर्ष करिब ४० लाखको घाँसको बिउ तथा बिरुवा बिक्री गरे । विशेष गरेर राइखन्नु, निमारो, इन्दु, नेपियरका १३ प्रजाति, इपिलइपिल, मुलाटो, भटमासे, ग्वाटेमाला, किम्बु, कान्भाटुलगायतका उन्नत जातका घाँस उत्पादन गरेर बिक्री गर्दै आएका हुन ।

सरकारी निकायको सहयोगः
गाउँमा नमुना कृषिको काम गरेपछि उनलाई जिल्ला स्थिति सरकारी कार्यालयहरूले सहयोग गर्दै आएका छन् । जिल्लामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, घरेलु कार्यालय लगायतले गोकर्णको फार्मलाई सहयोग गरेका छन् । कतिपय कार्यालयहरूले ग्रीन हाउस निर्माण, पोलिव्याग, घाँसको प्रदान लगायतका विभिन्न यन्त्र तथा उपकरणमा समेत सहयोग गरेका छन् । उनी भन्छन्–‘जिल्लामा नै होला, सरकारी कार्यालयहरूबाट बढि भन्दा बढि सहयोग ल्याएको, जसले मलाई हौसला थपेको छ । ’
अन्य स्थानमा सरकारी निकाय, कार्यालयबाट सहयोग नआएको, अनुदान नपाएको गुनासो आफूले सुन्ने गरेको भन्दै उनले तर आफूले भने काम गरेर देखाएको कारण विभिन्न निकायबाट राम्रो सहयोग प्राप्त भएको बताए । गोकर्णले घाँस खेतीको अलवा पशुपालन, पुष्प खेती समेत गर्दै आएका छन् । उनले आफ्नो फार्ममा उत्पादन भएको कृषि उपजको बजारीकरणको लागि आफै नै सवारी साधन चलाएर विभिन्न स्थानमा लैजाने गर्दछन् ।

५२ जिल्लामा घाँसका बिरुवा
गत वर्ष गुल्मीसहित ५२ जिल्लामा घाँसका बिरुवा निर्यात गरेको बताउँछन् । आमा र भाइले गोकर्णको काममा साथ दिएका छन् । उनले व्यवसायिक बाख्रापालन पनि गरेका छन् । फर्ममा आफूसहित, भाइ र तीनजना कामदार दैनिक काम गरिरहेका गर्दै आएका छन् । घाँसको बिउ रोप्ने र बिक्री गर्ने बेला झन्डै दुई दर्जनलाई जागिर पनि दिने गरेका छन् ।