Butwal Today

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ‘ए’ क्याम्पसुल खुवाउन लागेको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले छ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिए।

देशभरीका करिब ३२ लाख बालबालिकाले भिटामिन ‘ए’ तथा २९ लाख बालबालिकाले जुकाको औषधि खाने अनुमान सरकारले गरेको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर आज र भालि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने छन्। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाउने तयारी छ।

‘भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने छन्,’ थापाले भने, ‘यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अभिभावकलाईअनुरोध गर्नेछन्।’

सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।