© 2026
काठमाडौं,५ बैसाख । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।
प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ का लागि एक लाख २८ हजार र बझाङ १ कका लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार छन् ।
इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्।
नेकपा एमाले र नेकपा ओवादी केन्द्र साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई मैदानमा ल्याएका छन्।
इलाममा एमालेबाट सुहाङ नेम्बाङ उम्मेदवार छन् । कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, केशवकुमार चापागाईं, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाङमा नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
साथै जनमत पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गरेकी छन्। नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए।